बाँकेकाे राप्ती नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि, पानीको सतह ८.५७ मिटर
“
बाँके, साउन २८ । बाँकेमा राप्ती नदीमा पानीको सतह खतराको संकेत भन्दा निकै माथि पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार कुसुममा रहेको जलमापन केन्द्रमा पानीको सतह ८.५७ मिटर पुगेको छ ।
राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुगेमा खतराको संकेत मानिन्छ । पानीको बहाव खतराको संकेत भन्दा निकै माथि पुगेपछिसाईरन बजाइएको छ ।
नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेमा लक्ष्मणपुर बाँध आसपासका होलिया, बेतहनी, गंगापुर, मटैया, फत्तेपुर, कचनापुर लगायतका गाविसका दर्जनौं गाउँ डुबानको जोखिममा पर्ने गरेका छन् । बाढीले नेपालगञ्ज र कोहलपुर पनि डुबानमा परेको छ । फत्तेपुरमा राप्ती नदीको पानी गाउँमा पसेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले उद्धारका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलका अनुसार प्रभावकारी उद्धार तथा राहतका लागि अहिले जिल्ला प्रशासनमा रेडक्रससहितको बैठक बसिरहेको छ । कचनापुरका विभिन्न बस्ती पनि डुबानमा परेका छन् ।
“