पत्रकार महासंघको महाधिवेशनलाई प्रभावित पार्न खोजेको भन्दै प्रेस युनियनको आपत्ति
“
काठमाडौं, साउन २८ । महाधिवेशनलाई प्रभाव पार्ने गरी गलत काम भएको भन्दै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ ।
महाधिवेशन आउन दुई हप्ता पनि बाँकी नरहेको अवस्थामा महासंघ नेतृत्वले महाधिवेशनलाई प्रभावित पार्नेगरी शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, सभासद बढाउने जस्ता काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष महेन्द्र विष्टलाई बुझाइएको ज्ञापन पत्रमा आफूखुशी निर्णय गरेको, संरचनामा देखिएको विवाद मिलाउन प्रयास नगरेको, र महासंघका अग्रजको उपस्थितिमा भएका सहमति बेवास्ता गरेको उल्लेख गरिएको छ ।
केन्द्रीय समितिलाई छलेर सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समूहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानमा सदस्य संख्या थप्दै सभासद बढाउने काम भइरहेकोमा युनियनले आपत्ति जनाएको छ ।
काठमाडौं शाखामा मनलाग्दी सभासद चयन गरिएको, ललितपुरमा जिल्ला अधिवेशनपछि सभासद थपिएको, इलामको विवाद मिलाउन आफैले गरेको सहमति पालना नभएको, बर्दिया, अछाम लगायतका शाखामा प्रायोजित विवाद निकालिएको लगायत उदहारणले महासंघले महाधिवेशनलाई स्वतन्त्र र निष्पक्ष हुन नदिन चाहेको देखिएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
“