यी वाणिज्य बैङ्कले नेपालमा अर्ब रुपैयाँ माथि नाफा गरे

साउन २७, काठमाडौँ । गत आर्थिक वर्षको वित्तीय विवरण चार वाणिज्य बैङ्कले सार्वजनिक गरेका छन् । जस अनुरूप नेपाल एसबिआई, बैङ्क अफ काठमाडौँ, नेपाल बङ्गलादेश बैङ्क अर्बपति क्लबमा सामेल भएका छन् । भने, मेगाले पौने अर्ब बढी कमाएको छ । गत आर्थिक वर्ष २०७३/७४ मा नेपाल एसबिआइ बैङ्कले एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैङ्कले एक अर्ब ३३ करोड रुपैयाँ कमाएको थियो । बैङ्कले गत आर्थिक वर्ष ब्याज मार्फत आम्दानी दुर्इ अर्ब ९१ करोड रुपैयाँ गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैङ्कले ८१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ६३ अर्ब दुर्इ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैङ्कले एक वर्ष भित्र चार अर्ब ९७ करोड रुपैयाँको चुक्ता पुँजी बढाएर छ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको खराब कर्जा ०.१० प्रतिशत रहेको छ ।

यस्तै, बैङ्क अफ काठमाण्डू पहिलो पटक अर्बपति क्लबमा उक्लिएको छ । गत आर्थिक वर्षमा बैङ्कले ८९ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा ६५ करोड ५२ लाख रुपैयाँ नाफा गरेको बैङ्कले गत वर्ष एक अर्ब २३ करोड रुपैयाँ कमाएको थियो । बैङ्कले गत असारसम्ममा ७२ अर्ब १३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ६२ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैङ्कले १७ करोड १७ लाख डुबेको ऋण राइटब्याक समेत गरेको छ ।

बैङ्कको चुक्ता पुँजी पाँच अर्ब ६२ करोड रुपैयाँ रहेको छ । भने, जगेडा कोषमा तीन अर्ब ३२ करोड रुपैयाँ छ । बैङ्कको खराब कर्जा २ .५१ प्रतिशतबाट १.४६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष नै अर्बपति क्लबमा उक्लिएको नेपाल बङ्गलादेश बैङ्कले गत आर्थिक वर्षमा खासै नाफा बढाउन सकेको छैन । बैङ्कले एक करोड रुपैयाँ नाफा बढाएर एक अर्ब २० करोड रुपैयाँ पुर्याएको हो । बैङ्कले गत आर्थिक वर्षमा एक अर्ब ५२ करोड रुपैयाँ ब्याज मार्फत आम्दानी गरेको हो । बैङ्कले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ करोड ७१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ३७ अर्ब ४६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

बैङ्कले गत आर्थिक वर्षमा चुक्ता पुँजी चार अर्बबाट बढाएर सात अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । मेघा बैङ्कले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षमा ५५ करोड १० लाख रुपैयाँ कमाएको थियो । बैङ्कले ३८ अर्ब ९३ करोड रुपैयाँ सङ्कलन गरी ३४ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैङ्कको चुक्ता पुँजी चार अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक अर्ब २८ करोड छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *