चर्च ब्वाइज क्लब काठमाडौं पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा

ताप्लेजुङ, साउन २६ । चर्च ब्वाइज क्लब काठमाडौं ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई २–१ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

सदरमुकामस्थित भानुजन माविको मैदानमा भएको खेल निर्धारित् ९० मिनेटको समयमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा चर्च ब्वाइजका राज पौडेलले गरेको गोल नै नतिजामा निर्णायक बन्यो ।

यसअघि, खेलको ७औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी माटिन सेगुनले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

राष्ट्रिय जागृतिका भोला राईले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेपछि ९० मिनेटको खेलमा १–१ को बराबरीमा भएको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ चर्च ब्वाइजका दिपेश श्रेष्ठ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार सगरमाथा युवा क्लब मोरङ र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *