‘चीन कालापानी क्षेत्र वा कश्मिर प्रवेश गरे के हुन्छ ?’


“
नयाँ दिल्ली । भारतीय सैन्य विज्ञहरुले चीन अब कालापानी क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको खतरा औँलाएका छन् । सिक्कमको डोकलाम क्षेत्रमा सात हप्तादेखि जारी सैन्य तनावका बीच बुधबार विज्ञहरुले सो कुरा औँलाएका हुन् । चिनियाँ विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले बुधबार डाकलाम विवाद अन्त्य गर्न एकैसाथ सैनिक फिर्ता गर्ने भारतको सुझावलाई खारेज गर्दै ‘चीन कालापानी क्षेत्र वा कश्मिर प्रवेश गरे भारतले के गर्छ ?’ भन्दै प्रतिप्रश्न गरेको समाचार एजेन्सी पिटिआईले जनाएको थियो ।
भारतीय विदेश मन्त्री सुष्मा स्वारजले हालै मात्र डोकलामबारे कुनै प्रकारको सार्थक वार्ताका लागि दुवै पक्षले सेनालाई पछि हटाउनुपर्ने बताउँदै यस समस्याको शान्तिपूर्ण समाधान निकाल्नुपर्नेमा जोड दिएकी थिइन् । यसबारे प्रतिक्रिया दिँदै सीमा र जल ममिलाका उप निर्देशक वाङ वेन्लीले सो कुरा बताएका थिए ।
नेपालको भूमि रहेको कालापानीमा भारतले अनाधिकृत रुपमा कब्जा जमाउँदै आइरहेको छ । नेपालको दार्चुला जिल्लाको भूभागमा पर्ने कालापानी ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । भारतले यसलाई आफ्नो पिथोरागढ जिल्लाको अंग बताउँदै भारत–तिब्बत सीमा प्रहरीको नियन्त्रणमा राखेको छ । त्यहाँ नेपाल र भारतबीच ८०.५ किलोमिटर लामो सीमा रहेको छ भने त्योभन्दा माथि भारतको चीनसँग ३४४ किलोमिटर लामो सीमा रहेको छ ।
नेपाल–भारत सीमा मामिलाका विज्ञ मानिने एसएस पंक्तिले सन् १८१६ को सुगौलीले सन्धीले काली नदीलाई दुई देशबीचको पश्चिमी सीमाको रुपमा पहिचान रहेको बताउँछन् । कालापानीलाई काली नदीको उद्गम थालो मानिन्छ जुन नेपाल हुँदै उत्तराखण्डमा बग्ने गर्छ । यहाँ दुई देशले पञ्चेश्वर जलविद्युत आयोजना निर्माण गर्ने योजनामा पनि तर्जुमा गरिसकेका छन् ।
‘कालापानीभन्दा माथि नेपाल–भारतबीच चिनियाँ सीमासम्म सीमा निर्धारण गरिएको छैन । यसले आगामी दिनहरुमा समस्या खडा गर्न सक्छ । यहाँ चीनको खतरालाई नजरअन्दाज गर्न हुँदैन,’ पंक्तिले भारतीय अनलाइन हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै बताए ।
‘सीमा पारीको गतिविधिमा नजर राख्न अब कालापानीमा नियन्त्रण कायम गर्न महत्वपूर्ण छ,’ उनले भने ।
भारतले कालापानीमा नियन्त्रण बढाउने बताइरहे पनि कालापानी नेपालको भूमि रहेकाले यसबारे लामो समयदेखि बिरोध हुँदै आएको छ । करिब दुई वर्षअघि बैद्य माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) का विद्यार्थीहरुले दार्चुला पुगेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले भारतले कालापानी क्षेत्र चाँडोभन्दा चाँडो नेपाललाई फिर्ता गर्न माग गरेका थिए ।
पूर्व आइएएस अधिकारी रहेका पंक्तिले त्रिदेशीय सीमा निर्धारण गरिनुपर्नेमा जोड दिए । यता, रिटायर्ड बिग्रेडियर केजी बेहलले भारत सन् १९६२ को युद्धको तुलनामा भारतीय सेना तयार रहेको बताउँदै ‘यस्ता खाली ठाउँमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
“
