सार्वजनिक सवारीको मनपरी, ३ किमी यात्रा गर्दा ५० रुपैंया

लोकराज रुम्दाली
बुधवार २५, साउन । धुम्बाराही चप्पल कारखानाबाट बालाजु चोकसम्म (३ किमी) को बस भाडा कति तिर्नुपर्ला ? रु १०, १५ वा २० । यसबारे कतिपय यात्रुलाई अन्यौल हुन सक्छ । धेरैले १५ देखि २० रुपैंया तिर्ने गर्दछन् । तर, बुधवार धुम्बाराहीबाट बालाजु चोक आएका राज कुमार मल्लले ५० रुपैंया तिरे, त्यो पनि जवरजस्ती । सदा दिनहरूमा १५ रुपैंयामा आवतजावत गर्ने मल्ल आज ५० रुपैंया तिर्नुपर्दा छक्क परे । उनले बसका खलासीलाई प्रतिवाद गर्दा नगर्दै बस हुँइकियो । धन्न ५० मिटर अघिल्तिर आपूर्ति विभागका पदाधिकारीले सार्वजनिक सवारीमा अनुगमन गर्दै रहेछन् र बस रोकियो ।

त्यसपछि मल्ल सामु बा ४ ख ४८५६ बसका सहचालकसँगै चालक पनि आए । मल्लले किन ५० रुपैंया लिएको ? भनेर प्रतिवाद गरे । खलासीले ‘खुद्रा पैसा थिएन त्यही भएर नदिएको’ भन्दै ओठे जवाफ दिए । आपूर्ति विभागबाट लोक बहादुर कार्कीको संयोजकत्वमा खटिएको अनुगमन टोलीले सवारी चालकसँग भाडादर पत्र माग्यो । जुन पत्रमा लेखिएको थियो, चप्पलकारखानादेखि बालाजु १३ रुपैयाँ मात्र । अनुगमनमा खटिएका आपूर्ति विभागका पदाधिकारीले ट्राफिक प्रहरीको सहयोगमा उक्त सवारीलाई मनपरी भाडा असुलेको भन्दै ५ हजार जरिवाना मात्र कटाएनन्, सवारीको कागजात समेत नियन्त्रणमा लिए । त्यसपछि ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट अनुगमनका लागि खटिएका ट्राफिक प्रहरी हवल्दार केशर गुरुङले ट्राफिकको दफा ख को १ बमोजिम पाँच हजारको चिट काट्दै सम्झाए ।


‘सदाझै चप्पलकारखानाबाट बालाजु चोकमै झर्थे । खलासीले १५ रुपैयाँ बस भाडा लिन्थ्यौँ तर आज ५० रुपैयाँ लियो र बस अघि बढायो । त्यसपछि तीन छक्क परे ।’ उनले भने ।
राजधानीमा चल्ने अधिकांश सार्वजनिक सवारीले यात्रुहरुबाट तोकिएको भन्दा चर्को भाडा लिने गरेको पाइएको छ । आपूर्ति विभागले गत २२ गतेबाट थालेको अनुगमनबाट ७० प्रतिशत बढी सवारीले तोकिएको भन्दा बढी भाडा लिएको पाइएको हो । सरकारले १ किमिदेखि ४ किमिसम्मका लागि रु १३ रुपैंया र ५ किमिसम्मका लागि १५ रुपैयाँ भाडादर कायम गरे पनि अधिकांश सवारीले यो भाडादर लागू गर्दैनन् ।

बालाजु सडक खण्डमा बुधवार अनुगमन टोलीसहित तीन जना ट्राफिक प्रहरीले चेकिङ गरिरहेका थिए । यसैक्रममा बा १ ज ९८८४ नम्बरको बस हुँइकिदै आयो । एक जना पुरुष बसबाट झरे । तुरुन्तै टोलीसहित ट्राफिक प्रहरी त्यहाँ पुगे । बस भाडा कति तिर्नुभो दाइ ? उनले फ्याट्टै भनिहाले ‘सानो भ¥याङबाट बालाजु आएको १५ रुपैयाँ तिरें’ । अनुगमन टोलीले ड्राइभरसँग खास भाडा दरबारे सोधपुछ गर्दा ड्राइभरले भन्न आनाकानी गर्दै बसको घर्रामा लुकाएर राखिएको पत्र झिक्दै प्रहरीलाई देखाए । जसमा लेखिएको थियो, ‘सानो भ¥याङ–बालाजु रु १३’ । त्यहाँ पनि बसका सहचालकले बढी भाडा असुलेको पार्ईएपछि टोलीले रु ५ हजारको चिट थमाईदिएर सवारीको कागजातपत्र नियन्त्रणमा लियो ।

बुधवार मात्रै करिब २ घण्टाको अनुगमनमा यसरी मनपरी भाडा असुल्ने २२ सवारी कारबाहीमा परे । गत २२ गते देखि आजको दिनसम्मको अनुगमनमा करिब तीन दर्जन सवारी कारबाहीमा परेका छन् । सोही रुटमा चल्ने बा २ ख ९८८४ नम्बरको बसमा स्वयम्भू ठुलो भर्‍याङबाट बालाजु आएकी एक महिलाले पनि रु १३ को ठाउँमा १५ रुपैंया भाडा बुझाएको बताइन् । ‘१३ रुपैंया भाडा भएको त थाहा छ तर, खुद्रा छैन भनेपछि चुप लागें ।’ उनले भनिन् ।

यसरी अनुगमन टोलीले धमाधम सवारी चेक गर्दै बढी भाडा लिएको पाए कारबाही थालेसँग केही सवारी चालक भने महँगो जरीवाना देखेर आक्रोसित पनि भए । एक सवारी चालकले दिनभर तीन सय कमाइ हुने भन्दै जरीवाना महँगो भएको भने । ‘दिनभरि तीन सयपनि हुँदैन पाँच हजार तिर्नुपर्ने ? योत अत्ति भो ’ उनले भने । बुधवार अनुगमन टोलीले मध्यान्ह १२ बजेदेखि दुई घण्टाको अवधिभरमा ३७ वटा सार्वजनिक यातायातको भाडादर अनुगमन गर्‍यो । जसमध्ये २२ वटा बस कारबाहीमा परे । उनीहरूबाट मात्रै पाँच हजारको दरले एक लाख दश हजार राजस्व सङ्कलन भयो ।

खुद्रा नहुँदा बढी भाडा

सार्वजनिक सवारी चालकहरुले भने आफुहरुसँग खुद्रा पैसाको अभाव हुने भन्दै बढी भाडा लिनुपरेको जिकिर गर्छन् । उनीहरूले १३ रुपैंयाको ठाउँमा १५ र १७ रुपैंयाको ठाउँमा २० रुपैंया लिनुलाई खुद्रा पैसाकै अभाव देखाए । एक सहचालकले चाहिँ उल्टै यात्रुलाई दोष दिँदै खुद्रा पैसा बोकेरै बसमा चढ्नुपर्ने भने । ‘खुद्रा पैसा हुँदैन के गर्नु, बस चढ्नेलेपनि त खुद्रा बोक्नु पर्दैन ?’ उनले भने । यात्रुहरुले भने बढी पैसा फिर्ता माग्दा खलासीहरु उल्टै खुद्रा पैसा छैन भन्दै झर्किने गरेका छन् ।

टिकट पाईदैन

राजधानीमा चल्ने अधिकांश ठुला साना सार्वजनिक सवारीले टिकट दिँदैनन् । साझा यातायात, महानगर यातायातले यात्रुलाई टिकट दिएपनि अन्य सवारीले टिकट व्यवस्था गर्न सकेका छैनन् । महानगर यातायातले दिने टिकट पनि सबै यात्रुहरुलाई दिने गरेको छैन । सहचालकले हातमा टिकट बोकेपनि यात्रुले नमागेसम्म टिकट दिने गरेको छैन ।

जनता पनि जागरुक हुनुप¥यो

सवारी व्यवस्थापन गर्ने निकाय ट्राफिक प्रहरी कार्यालयले भने सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुपनि सजग हुनुपर्ने बताउँछ । सर्वसाधारणले दुई रुपैंया त होनी भन्ने मानसिकता बोकेर फिर्ता नमाग्दा बढी भाडा असुल्नेहरुको मनोबल बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मधुसुदन सिलवालको भनाई छ । ‘हामीले आपूर्ति व्यवस्थापन विभागसँग समन्वय गरेर अनुगमन गरिरहेका छौँ । कतिपय अवस्थामा यात्रुहरु नै १३ रुपैंयाको ठाउँमा १५ रुपैयाँ दिएर २ रुपैंया फिर्ता माग्नुहुन्न । जाबो २ रुपैंया त हो नि भन्दा यो समस्या आएको हो ।’ उनले भने । उनले कुनै पनि सवारीले बढी भाडा असुलेको पाइए वा उजुरी आए ट्राफिक प्रहरीले तत्काल कारबाही गर्ने बताए ।

डिजी गए हावा खान

आपूर्ति मन्त्रालयले गत साउन २२ गतेबाट सार्वजनिक यातायातको अनुगमनका लागि नौँ जनाको जम्बो टोली उपत्यकामा खटाएको पनि अनुगमनको मुख्य नियमन निकाय यातायात व्यवस्था विभाग भने कानमा तेल हालेर बसेको छ । मन्त्रालयबाट आएका अनुगमन टोलीका संयोजक लोकबहादुर कार्कीले यातायात व्यवस्था विभागलाई बारम्बार अनुगमनका लागि अनुरोध गर्दा कुनै रेस्पोन्स नगरेको बताए । ‘यातायात व्यवस्था विभागलाई बारम्बार अनुरोध गर्दा पनि उहाँहरूले चासो देखाउनु भएन, हामीले मात्रै गरेर हुँदैन । यातायात अनुगमन गर्ने मुख्य दायित्व आपूर्तिको होइन । यातायात व्यवस्था विभागको हो ।’ उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई ‘किन अनुगमनमा आउनु भएन’ भनेर प्रश्न सोध्दा उनले आफू बाहिर रहेको र आएपछि टोली पठाउने भन्दै पन्छिए । आपूर्ति विभागले राजधानीमा तीन दिन देखि यायायात अनुगमन गरेको उनलाई थाहा नै रहेनछ । ‘म त विराटनगरतिर पो छु । मलाई थाहा भएन । अब आएपछि सल्लाह गरौला’ उनले अनुगमनको विषयमा केही जानकारी नभएको जस्तो गर्दै भनेर फोन काटे । यता आपूर्ति व्यवस्था विभागले भने आफूहरूले बारम्बार अनुरोध र जानकारी गराउँदा समेत विभागले चासो नदिएको बताएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेलाई फोन सम्पर्क गर्दा उल्टै जिस्किए । आपूर्ति विभागले पटक–पटक अनुगमन गर्न अनुरोध गरे पनि किन आउनु भएन ? भनेर मकालु खबरले जिज्ञासा राख्दा उल्टै जिस्किए । ‘ए ! अनुगमनमा पठाएको छैन रहेछ है । मलाई त यसबारे केही थाहा छैन त ।’ उनले भने । महानिर्देशक ज्यू कहाँ हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा पाण्डेले ‘उहाँ त विराटनगरतिर डुल्न पो जानु भएको छ त ! भन्दै हाँस्दै जवाफ दिए । पाण्डेले महानिर्देशक आफ्नो व्यक्तिगत काममा विराटनगर गएको बताए ।
राजधानीमा चलेका अधिकांश सावर्जनिक यातायातले तोकिएको भन्दा बढी भाडा असुल्दा यातायात व्यवसायी समेत मौन बसेका छन् । कतिपय ब्यवसायीहरु नै बढी भाडा असुल्नेलाई संरक्षण गर्न लागि परेका छन् ।

हाल उपत्यकामा दैनिक सरदर २२ हजार सार्वजनिक सवारी चल्ने गर्दछन् । एउटा सार्वजनिक सवारीले आफ्नो रुटमा बिहान ४ बजेदेखि राती ९ बजेसम्म कम्तीमा ७–१० पटकसम्म ओहरदोहर गर्दछन् । यस हिसाबले हेर्दा एक पटकमा ५० जना यात्रुबाट मात्रै २ रुपैयाका दरले बढी भाडा असुल्दा २२ हजार सार्वजनिक यातायातले २२ करोड बढी भाडा असुल्ने गर्दछन् । जुन वार्षिक हिसाब गर्दा ८ अर्ब भन्दा बढी हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *