रेमण्डका मालिक बिजय भए ‘रोडपति’

साउन २५, काठमाडौं । कुनै समय डा. बिजयपत सिंहानिया भारतका धनाढ्य थिए । भारतमा २ दशक भन्दा बढी समय फेसन टाइकुनका रुपमा राज गरेका बिजयपत ७८ वर्षको उमेरमा सडकमा आइपुगेका छन् । रेमण्ड ब्राण्डका कपडाहरु उत्पादन गरी भारतमा पुरुषहरुको ‘फेसनलाइन’ क्रियट गरेका बिजयपत बुढेसकालमा हातमुख जोड्न धौ धौ पर्ने अवस्थामा पुगेका छन् ।
गगनचुम्बी भवनका मालिक बिजयपत आज भाडाको सानो अपार्टमेन्टमा बस्छन् । तर, त्यसको भाडा तिर्नसक्ने अवस्थामा पनि उनी छैनन् । बिजयपतको सबै सम्पति गुमेको छ र उनको एक मात्र कार तथा ड्राइभर सुविधा समेत खोसिएको मुम्बइ मिररले लेखेको छ ।
रेमण्डलार्इ देशकै सबैभन्दा ठूलो पहिरन ब्राण्ड बनाएका उनी आफ्नो ब्यवसाय छोरा गौतमलार्इ हस्तान्तरण गरेर बृद्धावस्था शान्तिपूर्वक बिताउने मुडमा थिए । तर, छोराले बाबुको एक हजार करोड भारु बराबरको सम्पति हत्याएपछि बाबुप्रतिको सबै उत्तरदायित्वबाट पन्छिँदा बिजयपत सडकमा आइपुगेका हुन् । दक्षिणी मुम्बइमा भाडाको सानो घरमा बस्दै आएका बिजयपतको चरम आर्थिक दुरावस्था उनका वकिलले त्यतिबेला सार्वजनिक गरेका हुन् जतिबेला मालाबार हिलमा रहेको ३६ तले ‘जेके बिल्डिङ’ मा आफ्नो स्वामित्वको  हिस्सा  माग गर्दै बिजयपतले मुम्बइ उच्च अदालतमा मुद्दा दायर गरे ।
७८ वर्षका बिजयपतको तर्फबाट मुद्दा लड्दै आएका वकिल दिनयार माडोनका अनुसार आफ्नो सबै सम्पति छोरालार्इ सुम्पिएपछि उनकै छोराले  बाबुलार्इ सडकमा पुर्याएका हुन् । रेमण्ड कम्पनीको एक हजार करोड भारु बराबरको आफ्नो सबै शेयर छोराको नाममा हस्तान्तरण गरिदिएको तर छोराले उनलार्इ न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित राखेपछि कम्पनीको जेके हाउसमा स्वामित्व दावी गर्दै बिजयपतका तर्फबाट वकिलले अदालतमा मुद्दा दायर गरेका हुन् ।
सन् १९६० मा बनाइएको जेके हाउस १४ तलाको थियो । भवनको चारवटा ड्युप्लेक्स रेमण्डकै सहायक कम्पनी पस्मिना होल्डिङलार्इ दिइएको थियो । सन् २००७ मा कम्पनीले भवनको बिस्तार गर्ने निर्णय गरेको थियो । बिजयपत, उनका छोरा गौतम, बिजयका भार्इ अजयपतकी बिधवा श्रीमती बिनादेवी र उनका दुर्इ छोरा अनन्त र अक्षयपतले पनि नयाँ बन्ने ड्युप्लेक्समा ५,१८५ वर्ग फिट क्षेत्रफल पाउने गरी डिल भएको थियो । नयाँ बन्ने ड्युप्लेकस्मा प्रति वर्गफिट ९००० रुपैयाँको रेट तोकिएको थियो ।
भवन ३६ तलाको बनेपछि त्यसमा बिनादेवी र अनन्तले पनि आफ्नो हिस्सा दावी गर्दै संयुक्त मुद्दा दायर गरेका छन् भने अक्षयपतले छुट्टै मुद्दा दायर गरिसकेका छन् । तर, रेमण्ड कम्पनीका तर्फबाट वकिलहरु जनक द्वारिकादास र बिराग तुलजापुरकरका अनुसार गौतमले थप कुनै तेस्रो पक्षको जिकिर नगरेको र यो भवन दुर्इ कम्पनी पस्मिना होल्डिङ्स तथा रेमण्ड लिमिटेडबीचको सम्झौता अनुसार बनाइएको बताएका छन् ।
भवनको २७ औ र २८ औ तलामा बिजयपतको स्वामित्व स्थापित गर्न तथा त्यसलार्इ प्रयोग गरे बापत उनलार्इ मासिक सात लाख रुपैयाँ रकम भुक्तानी दिन माग गर्दै अदालतमा मुद्दा दायर भएको हो । बिजयपतका छोराले बाबुको समेत स्वामित्वको अपार्टमेन्ट आफैँले कब्जा गरेको र त्यसको प्रयोग बापत बाबुलार्इ रकम भुक्तानी नगरेको वकिलको दावी छ।
दुबै पक्षको कुरा सुनेपछि अदालतका न्यायाधिश गिरिश कुलकर्णीले घरेलु मुद्दा अदालतसम्म ल्याउनुको सट्टा आपसी सहमतिमा सुल्झाउन सुझाव दिएका छन् । अदालतको आदेशपछि दुबै पक्षले आपसी छलफल सुरु समेत गरेको बताइएको छ । अदालतले बिजयपतले स्वामित्व दावी गरेको भवनको हिस्साको लागि स्टे अर्डर जारी गर्दै रेमण्डका तर्फबाट यसको जवाफ माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *