कास्कीमा स्वाइनफ्लुले ३ को मृत्यु, १०० भन्दा बढी संक्रमित

साउन २५, पोखरा– छिमेकी जिल्ला स्याङ्जामा देखा परेको मौसमी इन्फ्लुएन्जा (स्वाइनफ्लु भनेर चिनिने एचवान एनवान) को संक्रमणले अहिले पोखरा तथा आसपासका क्षेत्र प्रभावित बनेको छ । स्वाइनफ्लुका कारण कास्कीमा तीन जनाले ज्यान गुमाएका छन् भने एक सय भन्दा बढीमा संक्रमण भेटिएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालाका प्रमुख डा. लक्ष्मण बाँस्तोलाले असार १६ गतेदेखि साउन १८ गतेसम्म काठमाडौं पठाएका एक सय ६८ नमूनामध्ये एक सय पाँच जनालाई इन्फ्लुएन्जा पोजेटिभ भेटिएको बताए । उनका अनुसार थप ९० जनाको नमूना पीरक्षणका लागि काठमाडौं पठाइएकोमा रिपोर्ट आउन बाँकी छ ।

इन्फ्लुएन्जा पोजेटिभ भेटिएकामध्ये कास्की जिल्लाका मात्र ८९ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए । स्वाइनफ्लु भएका मध्ये सात जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाएका छन् ।

विरामीलाई स्वाइनफ्लु लागेको स्पष्ट किटानी गर्ने प्रविधि र प्रयोगशालाको उपलब्धता पोखरामा नभएको बताउँछन् पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला प्रमुख डा. बाँस्तोला । १०० डिग्रीभन्दा बढी ज्वरो लगातार आइरहेका, रुघाखोकी लागेका र स्वासप्रश्वासमा समस्या भएका बिरामीको पहिलो चरणको परीक्षण (र्यापिड डायग्नोस्टिक टेस्ट) गर्दा ‘इन्फ्लुएन्जा ए’ पाइएमा त्यस्ता नमूनालाई पिसिआर टेस्टका लागि नमूना काठमाडौं पठाइने बाँस्तोलाले बताए। पिसिआर टेस्ट पोजेटिभ देखिएमा मात्रै स्वाइनफ्लुको पुष्टि हुने उनको भनाइ छ । डा‍. बाँस्तोला भन्छन्, ‘सामान्य रुघाखोकी लाग्दैमा स्वाइनफ्लु भएको शंका गरिहाल्नु हुँदैन । तर, उच्च सतर्कता भने अपनाउनुपर्छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश चापागाईंले स्वाइनफ्लुको शंका लागेमा रगत परीक्षण र निःशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन् । स्वाइनफ्लु पुष्टि भएमा त्यसको औषधि जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा, मातृशिशु मितेरी अस्पताल पोखरा र शिसुवा स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गरिएको चापागाईंले जनाए ।

यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक आचार्यका अनुसार स्वाइनफ्लुका बिरामीलाई अलग्गै ब्लकमा राखेर उपचार गरिँदै आएको छ। बिरामीको चाप अनुसार आवश्यक जनशक्ति र कीटको पर्याप्त उपलब्धता हुन नसक्दा कठिनाइ भइरहेको क्षेत्रीय प्रयोगशालाका प्रमुख डा. बाँस्तोला बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *