खत्री इन्काउन्टर रहस्यमय : बाबु-छोरा नै दुर्व्यसनी

काठमाडौं, साउन २५ । ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । १२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ । उनी सुध्रिएलान् कि भनेर परिवारले नै पटक-पटक प्रहरीमा बुझाएको थियो । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले पनि उनलाई नियन्त्रणमा लिएको थियो । तर, पुनःस्थापना केन्द्रमा राख्दा पनि उनी सुध्रिएनन् । प्रहरीमा उनीविरुद्ध कुनै उजुरी वा मुद्दा छैन।

खत्रीका दुई समस्या
परिवार र छिमेकीका अनुसार ३२ वर्षीय खत्रीका दुई समस्या थिए- एउटा लागूऔषध सेवन गर्ने अनि अर्को परिवारका सदस्यलाई तनाव दिने । उनी कम बोल्थे, घरबाट बाहिर कमै निस्कन्थे । उनी श्रीमती, छोरा तथा बुबाआमासहित कुसुन्तीमा बस्थे । ‘छरछिमेकमा उसले त्यस्तो धाकधम्की दिँदैनथ्यो । घरबाहिर निस्किएको र घर छिरेको पत्तै पाइन्नथ्यो’, छिमेकी उद्धव थापा भन्छन् । उनै व्यक्ति सोमबार प्रहरी ‘इन्काउन्टर’मा मारिए । प्रहरीको दाबीअनुसार उनी १० वर्षदेखि लागूऔषध कारोबारी थिए र उनको साथमा दुईवटा अटो लोडेड पेस्तोल भेटिएको छ । ‘प्रवीणले आफैंलाई कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्’, प्रहरी भन्छ ।

छिमेकीले देखेनन्
‘ऊ १० वर्षदेखि लागू औषधको कारोबारमा संलग्न थियो भने प्रहरीले किन पक्रन सकेन ? किन उसको साथबाट लागूऔषध बरामद हुन सकेन’, उनका एक आफन्त भन्छन्, ‘एकातर्फ घरभित्र छिरेर मान्छे मार्ने, अर्कोतर्फ लागूऔषध कारोबारी थियो भनेर परिवारलाई नै धब्बा लगाउने ? ‘ खत्रीको घर आसपास बाक्लो बस्ती छ । दिउँसो २ बजे भएको उक्त घटना देखेको कुनै छिमेकीले बताएका छैनन् ।

घटना रहस्यमय
प्रहरीको दाबीमा खत्री घरको छतबाट दुबै हातमा पेस्तोल लिँदै भुइँमा झरेका थिए । उनले करिब २२ फिट उचाइबाट र १५ फिट चौडाइ पार गर्न हामफालेको प्रहरीको दाबी छ । बाक्लो बस्तीमा छरछिमेक चुप लागेर बस्नु र लागूऔषध दुर्व्यसनी मात्र रहेका खत्री इन्काउन्टरमा मारिनुले घटना रहस्यमय देखिएको छ ।

बाबु-छोरा नै दुर्व्यसनी
छोरा मारिएको खबरलगत्तै प्रमोद खत्री सोमबार अपराह्न दक्षिणकालीस्थित सुधारगृहबाट आएका थिए । सोमबार प्रहरीविरुद्ध निकै आक्रोहित देखिएका उनी मंगलबार बिहान पनि मदिराले लरबरिएका थिए । उनी ८-१० वर्षयता सुधारगृहमा नियमित जाने-आउने गर्छन् । ‘भिनाजु एक-दुई महिना सुधारगृहमा बस्नुहुन्थ्यो । तर, घर फर्किएपछि उहाँको हालत उही पुरानै हुन्थ्यो । अनि फेरि सुधारगृह पठाइहाल्नुपथ्र्यो’, खत्रीका साला सञ्जय विष्ट भन्छन् ।

प्रयास  भयो, परिवर्तन भएन
प्रमोदको पुरानो घर ढोलाहिटी भए पनि उनी कान्छी श्रीमतीसँग कुसुन्तीमा बस्दै आएका थिए । कान्छीतर्फ एक मात्र सन्तानका रूपमा प्रवीण थिए । बाबु प्रमोद सुधारगृहमा हुने, आमा पसलमा बस्ने र श्रीमती अस्पतालमा काम गर्ने हुँदा दिनभर प्रवीण घरमा एक्लै हुन्थे । घरभित्र आफूले भनेजस्तो भएन भने उनी श्रीमती र आमामा जाइलाग्थे ।’हामीले भाञ्जा सुध्रिउन् भनेर अनेक प्रयास गर्‍यौं तर केही परिवर्तन भएन । आमा र श्रीमतीलाई लगातार दुःख दिने र आतंक मच्चाउने मात्र काम गर्थे’, विष्ट भन्छन्, ‘उनको समस्या नै त्यति थियो।’

अल्का अस्पतालमा काम 
पारिवारिक स्रोतका अनुसार प्रवीणलाई पछिल्लो समय थप स्वतन्त्र छाडिएको थियो । ‘केही गर्दा पनि नसुध्रिएपछि उनको कसैले वास्ता गर्दैनथ्यो । तर, उनको खप्की दिन-दिनै बढ्दो थियो । आफूले भनेजस्तो भएन भने आतंक नै मच्चाउँथे । काट्छु, मार्छु भनेर धम्क्याउँथे’, एक नातेदार भन्छन् ।
प्लस टुसम्मको अध्ययन गरेका उनले केही समय अल्का अस्पतालमा कामसमेत गरेका थिए । मोटरसाइकल दुर्घटनामा परेपछि उनले केही वर्षअघि जागिर छाडेका थिए । बाबु-छोरा नै दुर्व्यसनी भएका कारण उनीहरूको घरमा छिमेकीको आउजाउसमेत कम थियो । परिवारले स्वीकृति दिएपछि मंगलबार प्रवीणको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । मृतकका आफन्तले ललितपुर प्रहरीमा उजुरीसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *