पार्टी प्रशिक्षणमा प्रचण्डले भने– ‘बिद्रोह गर्न तयार भइसकेको छु’

काठमाडौं, २४ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका एजेण्डा संस्थागत गर्न नसकिए आफूहरुलाई पेरु र कम्बोडियाका बिद्रोहीलाई जस्तै बनाउने षडयन्त्र भइरहेको बताएका छन् ।

उनले पार्टीमा क्षयीकरण भइरहेको भन्दै त्यसलाई जोगाउन नेता कार्यकर्ताको कार्यशैलीमा परिवर्तन जरुरी रहेको बताए ।

प्रदेश नम्बर ३ का केन्द्रीय सदस्यहरुलाई मंगलवार ललितपुरमा प्रशिक्षण दिने क्रममा प्रचण्डले पेरु र कम्बोडियाको उदाहरण पेशगर्दै एजेण्डा संस्थागत नभए माओवादीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन् ।
पेरु र कम्वोडियामा बिद्रोही नेताहरुलाई युद्धअपराधको मुद्दा चलाइएको थियो ।

‘परिवर्तन उल्टिनु भनेको माओवादीले गरेको १० वर्षे संघर्ष जनयुद्ध थिएन अपराधिकरण थियो भन्नु हो’, प्रचण्डले भने, ‘मलेसिया, पेरु र कम्बोडिया जे भयो त्यो अवस्थामा हामीकहाँ पनि आउन सक्छ ।’

परिवर्तनका एजेण्डालाई रक्षा गर्न नसकिए माओवादीलाई पनि त्यसैगरी सकिदिने प्रचण्डले बताए । ‘अहिलेको प्रमुख काम भनेको परिवर्तनको रक्षा गर्नु हो, कांग्रेस एमाले कहिल्यै परिवतर्नको पक्षमा छैनन्’ प्रचण्डले अगाडि भने, ‘यदी रोक्न सकिएन भने हाम्रै पालामा सक्याउँछन् ।’

प्रचण्डले कांग्रेस, एमालेहरु षड्यन्त्र गर्ने लाइनमा रहेको दावी गरे । ‘हामीहरु सचेत भएनौं भने सिध्याइदिन्छन, विद्रोह गर्न म तयार भइसकेको छु, तपाईँहरु पनि तयार हुनुहोस्’ उनले भने ।

प्रचण्डले माओवादीहरु बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘हामीले जनता देख्नै छाड्यौं अहिले अलीअली खट्दा १४ लाख भोट आए । तपाई हामीले छाडेपनि जनताले छाडेका रहेनछन्’ प्रचण्डले भने ।

नेताहरु पार्टीको लागि भन्दा पनि व्यक्तिको फाइदाको लागि पार्टी र समूहको प्रयोग गर्न लागेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *