संसदीय क्षेत्राधिकारको विषयलाई लिएर पुनः विवाद

साउन २२, मकालु खबर । संसदीय समितिहरुबीच क्षेत्राधिकारको विषयलाई लिएर पुनः विवाद सुरु भएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आफ्नो क्षेत्राधिकार भित्र पर्ने आयल निगमको जग्गा खरिद प्रकरणमा अन्य संसदीय समितिले छानवीन प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि जनाएपछि समितिहरुबीच पुनः विवाद सुरु भएको हो ।

समितिले व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले आयल निगमको जग्गा खरिद प्रक्रियालाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेकोमा पनि आपत्ति जनाएको छ । समितिको आईतबार बसेको बैठकले अन्य समितिहरुले आफनो क्षेत्राधिकार भित्र हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै यसबारे सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

आयल निगमको जग्गा खरिद प्रकरणबारे व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तर उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले भने आफ्नो क्षेत्राधिकार भित्र प्रवेश गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने, सरकारलाई निर्देशन दिने लगायतका काम अन्य समितिहरुबाट भएकोमा आपत्ति जनाएको हो ।

आफ्नो क्षेत्राधिकारमाथि अन्य समितिहरुले हस्तक्षेप गरेकाले त्यसबारे सभामुखको गम्भिर ध्यानाकर्षण गराउने निर्णय गरिएको समितिका सभापति भीष्मराज आङदेम्बेले जानकारी दिनु भयो । उहाँले लेखा समितिले झारा टार्ने किसिमले आयल निगमको जग्गा खरिद प्रकरणबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेकोमा पनि समितिको आपत्ति रहेको स्पष्ट पार्नु भयो ।

समिति अन्तरगतको उपभोक्ता हित सम्बन्ध उपसमितिले आयल निगमको जग्गा खरिद प्रक्रियाबारे अनुसन्धान अघि बढाइसकेको छ । आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा अरबोैंको घोटाला गरेको आशंका गर्दै संसदीय समितिहरुले छानवीन प्रक्रिया अघि बढाएका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *