बेलायतस्थित नेपाली काँग्रेसको जनसम्पर्क समितिको सभापतिमा गुरुङ उठदै

विनय अधिकारी, लन्डन । बेलायतस्थित नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशनमा युवराज गुरुङले सभापति पदमा उम्मेदवारी दिनु हुने भएको छ । साउथह्यारोमा शुक्रवार साँझ भएको पत्रकार सम्मेलनमा गुरुङले उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

‘प्रजातन्त्रमा विश्वास गर्ने हामी परिआए चुनावमा पनि होमिनु पर्छ’, उनले भने, ‘सकेसम्म सबै पक्षलाई समेटेर लैजाने मेरो योजना छ । सङ्गठन बलियो बनाउने मेरो मुख्य उद्देश्य छ ।’

आफूले नेतृत्व सम्हाल्न पाए प्रजातन्त्रको जननी बेलायतको लोकतान्त्रिक अभ्यास मूल पार्टी काँग्रेस समक्ष गराउन पहल गर्ने बताए । नेपाली जनसम्पर्क समिति बेलायत सबैको साझा सङ्गठन हो भन्ने आभास गराउन आफू लागिपर्ने पनि उनले बताए । नेपालको संविधान कार्यान्वयनमा नेपाली काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेकाले त्यसका लागि केन्द्रसम्म आफ्नो प्रयास रहने उनको भनाइ छ ।

मानव अधिकार र भूपू गोर्खाहरुका माग समाधान गर्ने सवालमा आफ्नो र पार्टीको सक्रिय सहयोग रहने अठोट समेत उनले व्यक्त गरे । समितिमा महिला सहभागिता र बेलायतस्थित नेपाली संघसंस्थाको सहकार्यमा उनको जोड छ ।सदस्यता लिएर अधिवेशनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै केही व्यक्ति प्रतिष्पर्धासँग डराएर निर्वाचनमा आउन नखोजे पनि अधिवेशन भएरै छाड्ने उनको दाबी छ ।

नेपाली जनसम्पर्क समिति बेलायतको वर्तमान उपसभापति गुरुङ महासमिति सदस्य, सङ्खुवासभाबाट महाधिवेशन प्रतिनिधि, हङकङ समितिको संस्थापक सदस्य १९९७, ०४६ सालमा नेबिसंघ सङ्खुवासभा जिल्ला कमिटीको उपसभापति, ०४८ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानको इकाइ उपसभापति भएर राजनीतिक अनुभव लिइसकेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतको झन्डै ९ वर्षपछि अधिवेशन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *