जग्गा प्रकरणमा दोषी जो भएपनि कारबाहीको दायरामा

साउन २२, विराटनगर । वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिएका जो भए पनि तिनलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । मन्त्री भएर पहिलो पटक गृह जिल्ला मोरङ आएका मण्डलले दोषीलाई कारबाही गर्न तयार रहेको जनाएका हुन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग मन्त्री मण्डलले आफ्नो पद छाड्नुपर्ने अवस्था आएपनि कारबाही गर्न आफू पछि नहट्ने बताएका हुन् ।
‘अनुसन्धान र कारबाही प्रक्रिया कसैको तागतले पनि रोकिने छैन’, उनको भनार्इ थियो, ‘बरु मन्त्रालय छोड्नु पर्ने अवस्था आए छोड्छु तर दोषीलाई उन्मुक्ति दिन्न।’ जग्गा खरिदका विषयमा आएका समाचारप्रति आफू गम्भीर भएको र माहान्यायाधिवक्ता मार्फत् कानुनी सल्लाह लिइरहेको जानकारी मन्त्री शिवकुमारले दिए । साथै, लेखा समितिले अख्तियारलाई दिएको प्रतिवेदनबारे आफूलाई जानकारी भएको र मन्त्रालयले पनि छानविनका लागि छलफल अघि बढाएको उल्लेख गरे ।
विभिन्न सञ्चारमाध्यममा आइरहेको आइओसीसँग मिलेर पेट्रोलपम्प खोल्ने बारेको समाचारप्रति आफूलाई जानकारी नभएको उनको प्रतिक्रिया थियो । आइओसी र एनओसीबारे सबै विषय बुझ्न बाँकी रहेको स्पष्ट पार्दै मण्डलले नेपालको आत्मनिर्भरतालाई प्राथमिकता दिएर अघि बढ्ने विचार प्रकट गरे ।
उनले चाडबाडका समयमा हुने कृत्रिम अभाव नियन्त्रणका लागि आफूले सबै विभागलाई निर्देशन दिएको जानकारी दिए । मन्त्री मण्डलले एकाधिकार तोड्न चीन र बंगलादेशसँगका सम्झौता कार्यान्वयन गर्न पहल र प्रयत्न गरिने बताए ।कार्यकर्ताले उनलाई २५ किलोग्रामको माला लगाएर स्वागत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *