गाउँ नै विस्थापित हुने अवस्था

विनोदसिंह विष्ट, बाजुरा । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ । अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेको स्थानीयवासी खड्कराज जोशीले बताउनुभयो ।उहाँका अनुसार लगातारको पानीले गाउँको एक सय ३० घर परिवारलाई अन्यत्र बास बस्नुपर्ने बाध्यता छ । बजेडीमा घरको तलपट्टि र माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासी झन् त्रसित बनेका हुन् ।

गाउँमा रहेका थालामेल, नाउली र दलित बस्तीका ५६ जनाको घर पानी र पहिराका कारणले भत्किएको स्थानीयवासी किट्टो ल्वारले बताउनुभयो । छपन्न घरपरिवारमध्ये १४ परिवार बढी जोखिममा रहेको बताइएको छ । गाउँमा नयाँ सडक निर्माण भएसँगै पहिरो जान थालेपछि स्थानीयवासी अझै त्रसित भएका हुन् । घर माथिबाट पहिरो आउने सम्भावना भएपछि बजेडीका बासिन्दा राति जाग्रामै बस्ने गरेका छन् । पानी पर्दा नजिकैको विद्यालयमा जाने भए पनि हावाहुरीका कारणले विद्यालयको छाना उडाएपछि राति छाता ओढेर बस्ने गरेको स्थानीयवासी दयाराम जोशीले बताउनुभयो ।

पहिराले सोही नगरपालिका– ३ गड्तोलाका ४० परिवार र देनवाडाका २० परिवारसमेत जोखिममा छन् । गड्तोलामा घरमाथिका खेतीयोग्य जमिन भासिएका छन् भने देनबाडा गाउँ नजिकै रहेको सामुदायिक वन भासिँदै गएकाले माथि र तलबाट पहिरो जान थालेको छ । पहिराले खेतीयोग्य जमिन बगाएको छ । पहिरोले बजेडीमा पाँच हजार हेक्टरको जमिन क्षतविक्षत पारेको छ । पहिराले गाईगोरु, भँैसी चराउने वनसमेत छैन । सामुदायिक वन र कबुलियती वन बनाएपछि स्थानीयवासी घरमै गाईगोरु र भैँसी पाल्न बाध्य भएका छन् ।

छिमेकीमा आश्रय 
लगातारको वर्षाले डिलाशैनी गाउँपालिकाको बांगाबगर, दोगडाकेदार गाउँपालिकाको सित्तड, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्रमा पहिराको जोखिम बढेको छ । ती ठाउँमा पहिलादेखि नै पहिराको प्रकोप रहेको र लगातारको बर्षाले झन् जोखिम बढाएको स्थानीयवासीले बताएका छन् । लगातारको वर्षाले दोगडाकेदार–६ सित्तडको डोलमा पहिराको जोखिम झन् बढेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै, बांगाबगरका बासिन्दालाई वर्षाले चिन्तित तुल्याएको छ । लगातार वर्षा भएपछि पहिराको डरले रातभरि सुत्न समेत नपाएको स्थानीयवासी महेश सार्कीले बताउनुभयो ।

उता तल्लोसोराडको विशालपुरमा पनि पहिरोको जोखिम बढेको स्थानीयबासीले बताएका छन् । लगातारको बर्षासंगै प्रत्येक बर्ष खस्ने पहिरो यो बर्ष पनि खस्न थालेको स्थानीयबासीले बताएका छन् । लगातारको बर्षाले बांगाबगर क्षेत्रका बासिन्दा त्रसित बनेका स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो । पहिराका कारण सित्तडको डोलमा स्थानीवासीका घर र विद्यालय जोखिममा छन् । लामो समयदेखि पहिराको समस्या खेप्दै आए पनि आफूहरुको उचित व्यवस्थापन हुन नसकेको पहिरोपीडितले गुनासो गरेका छन् ।

सित्तडको डोलमा आएको पहिराले स्थानीयवासी विश्राम भुलको घर जोखिममा परेको छ । घरको आँगन पहिराले लगेपछि घर पहिराको जोखिममा परेको भुलले बताउनुभयो । लगातारको वर्षाले डिलाशैनी–५ नगराउँका धनी नाथको तीनतले घर भत्किएको स्थानीयवासी गणेशदत्त भट्टले जानकारी दिनुभयो । घर भत्केपछि नाथ परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेको छ । पहिराको जोखिम भएका ठाउँमा सतर्क भएर बस्न जिल्ला दैवीप्रकोप उद्धार समितिले सबैमा आग्रह गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *