निर्वाचनमा होमिइसकेका मतदातालाई कसैले रोक्न सक्दैन : मन्त्री थापा
“
काठमाडौं, साउन २१ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित साक्षात्कारमा उहाँले प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र नभइ समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।
संविधान संशोधनका लागि आवश्यक वातावरण बनाउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र गणतन्त्र कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालयलाई धेरै कानून निर्माण गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । मन्त्री थापाले त्यस क्रममा ५१ वटा विधेयक पारित गरी ऐन, कानून निर्माण भइसकेको जानकारी दिनुभयो ।
प्रदेशको सीमा निर्धारण गर्ने सन्दर्भमा नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानूनमन्त्री थापाले जानकारी दिनुभयो ।
“