छाडा यौन स्वभाव भएका व्यक्तिलाई कस्तो रोग लाग्छ ? जानी राखौँ

नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं।

नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिन सक्छ। त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौं, त्यो पनि यौन सम्पर्कका माध्यमबाट सर्ने रोग हो। फङ्गल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ। तर, यो यौन रोगमा पर्दैन।

मानिसको गुप्ताङ्गमा देखिने मुसा यौनरोग हो। गुप्ताङ्गमा मुसा आएको व्यक्तिले यौनसम्पर्क गर्छ भने अर्को व्यक्तिमा रोग सर्छ। कतिपयको हात र खुट्टाहरुमा देखिने मुसा यौनरोग होइनन्। यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ। अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।

नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ। सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ। केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ। पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ। उनीहरुको यौनांग वरपर घाउ देखिन्छ। प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ।

भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ। उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ। तर, तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन। यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ। घाउ नै छ भने जोखिम ज्यादा हुन्छ।

यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ। यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ। कतिपयको यौनांग अति गन्हाउने हुन्छ। सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ। महिलामा यो रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ। गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ। नवजात शिशुलाई गोनेरिया सर्यो भने आँखामा समस्या आउने हुनसक्छ।

जेनाइटल हर्पिज पनि अर्को यौनरोग हो। यसका धेरै प्रकार र लक्षण छन्। केहीको ओठमा पनि यसका लक्षण निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं। हर्पिज रोस्टर अर्को प्रकारको यौनरोग हो। शरीरको एक भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौँ।

कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ। यो जेनाइटल वार्ट भने मुसाहरु हुन्। जुन सामान्य मानिसमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन्छन्। कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कका बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन्। यौनसम्पर्कका क्रममा योनी र लिंगका भाग घर्षण हुँदा यौनरसमा रहने जीवाणूहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन्। पानीफोका फुट्दा वा रस निस्कदा पनि जीवाणूहरु स्थानान्तरण हुन्छन्। यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्छन्। यौनसम्पर्कका क्रममा महिलाको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जीवाणूहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन्।

यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन सम्पर्क हो। सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो। रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन। पति(पत्नीमध्ये कसैमा यो रोग लागिसकेको छ भने निको नहुन्जेल शारीरिक सम्पर्क नगर्नु राम्रो हो।

प्रायः हामीकहाँ उपचारमा आउने महिलाहरुमा श्रीमानका कारण रोग लाग्ने गरेको बढी भेटिएको छ। घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै छन्।

यदि कुनै पति(पत्नी आफूहरु बाहेक अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ। बरु एचआइभी रगत, सिरिञ्ज लगायतका अन्य क्रियाकलापका कारण सर्न सक्ला तर एड्स बाहेकका अन्य यौनरोग अरु माध्यमबाट सर्दैनन्।

यस्ता यौनरोग लागेका व्यक्तिले निको नहुन्जेल कन्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्छन्। पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा रहिरहन्छ। यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा हुन्छ। यस्ता यौनरोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि रोग सर्ने सम्भावना रहन्छ। कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात् मुसा देखा पर्न सक्छ।

समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडीत छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ। कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय आफ्नो अनुकूलको डाक्टरलाई देखाउँछन्। पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टरकहाँ जान्छन्। त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छन् भनी सहजै भन्न सकिँदैन।

अन्त्यमा भन्नुपर्दा, स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अवलम्बन गरेमा यस्ता यौनरोगको जोखिम निकै कम हुन्छ।

(छाला तथा यौन रोग विशेषज्ञ डा. शर्मा नर्भिक अस्पतालमा कार्यरत छन् )स्वास्थ्य खबरबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *