सरकारद्वारा सह सचिवहरुको व्यापक सरुवा

साउन २०, काठमाडौं । सरकारले सह सचिवहरुको व्यापक सरुवा गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका सह सचिवहरुको सरुवा गरेको छ । मुख्य गरि अर्थमन्त्रालय र मातहतका निकायमा कार्यरत सह सचिवहरुको व्यापक सरुवा गरिएको स्रोतले बतायो । सह सचिव सरुवाको कुरा अझै बाहिर ल्याइएको छैन । शुक्रवार बेलुका सम्ममा सह सचिवहरुलाई सरुवाको चिठी दिने बुझिएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार करिव ४० जना सह सचिवको सरुवा गरिएको हो ।

अर्थ मन्त्रालयमा रहेका सह सचिवलाई बाहिर पठाइएको छ । बाहिरका सात जना सह सचिवलाई मन्त्रालय तानिएको छ । हाल प्राप्त जानकारी अनुसार अर्थमन्त्रालय अन्तर्गतका केही महत्वपूर्ण विभाग र कार्यालयका प्रमुख र उपप्रमुखहरु परिवर्तन गरिएको छ । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागका महानिर्देशक रामकृष्ण सुवेदीलाई गृहमा पठाइएको छ । उनको ठाउँमा यातायात व्यवस्था विभागका डिजी रुपनारायण भट्टराईलाई ल्याइएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत आकर्षक कार्यालय मानिने ठूला करदाता कार्यालयका प्रमुख बलराम रिजाललाई त्यहाँबाट सरुवा गरिएको छ । उनलाई आन्तरिक राजश्व विभागमा सरुवा गरिएको हो । अर्थ मन्त्रालयमा कार्यरत सह सचिव सुवेदी, राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक विश्व प्रकाश सुवेदी, रमेश केसी, हरि बस्याल लगायतलाई अर्थमन्त्रालयबाट सरुवा गरिएको छ ।

अर्थमा सह सचिवहरुलाई बालकृष्ण घिमिरे, गंगाराम गोलाल, रुपनाराण भट्टराई लगायतलाई ल्याइएको स्रोतले बताएको छ । स्थानीय विकास मन्त्रालयका सह सचिव केदार शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । शिक्षा मन्त्रालयका सह सचिव चक्र बुढाको गृहमा सरुवा भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको पनि सरुवा भएको स्रोतको दावी छ । त्यस्तै, गृह  मन्त्रालयका सह सचिव यादव कोइरालाको पनि सरुवा भएको छ ।

स्रोतका अनुसार गृह, स्थानीय विकास र अर्थ मन्त्रालयका सह सचिवहरुको सरुवा गरिएको हो । सरुवाको लिस्ट तयार भएपनि अन्तिम समयमा फेरि हेरफेर हुन सक्ने सम्भावना रहेको स्रोतको दावी छ । मन्त्रिपरिषदको बैठकले सरुवामा सहमति दिने निर्णय गरेको भएपनि सामान्य प्रशासन मन्त्रालयले सरुवामा परेकाहरुलाई चिठी दिइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *