एमालेले आयल निगमको जग्गा खरिद प्रकरणबारे अनुसन्धान गर्ने

साउन २०, मकालु खबर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आयल निगमको जग्गा खरिद प्रकरणबारे अनुसन्धान गर्ने भएको छ । एमाले स्थायी समिति बैठकले आयल निगमको जग्गा खरिद प्रकरणबारे आवश्यक अनुसन्धान गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा विहिबार अपरान्ह बसेको बैठकले जग्गा खरिदका विषयमा आवश्यक अनुसन्धान गर्ने जिम्मेवारी पार्टी संसदीय दललाई दिएको छ ।

पार्टी संसदीय दललाई सो सम्बन्धमा अनुसन्धान गरी बास्तविकता पत्ता लगाउने जिम्मेवारी दिइएको नेता शंकर पोखरेलले जानकारी दिनु भयो । आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएको आशंका गरिएको छ । बैठकले कर फस्र्यौट ऐन असान्दर्भिक भएको निष्कर्ष निकाल्दै खारेज गर्न पनि सरकारसँग माग गरेको छ । एमाले स्थायी समिति बैठकले पाँच वटा जिल्लामा जिल्ला समन्वय समितिको उम्मेदवार पनि तय गरेको छ । जस अनुसार रुपन्देहीको प्रमुखमा एकराज विश्वकर्मा, दाङको प्रमुखमा जितेन्द्रमान नेपाली, प्युठानको प्रमुखमा नेहरसिंह केसी, संखुवा सभाको प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा अम्बिका खवासको नाम तय गरिएको छ ।

त्यसै गरी, बाँकेमा भने एमालेले संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर उम्मेदवारी दिने निर्णय पनि गरेको छ । बाँकेमा फोरमसँग तालमेल गरेर पार्टीको तर्फबाट उपप्रमुखमा अतिउल्लाह खाँलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि नेता पोखरेलले बताउनु भयो । एमालेले पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा जिल्ला समन्वय समितिको उम्मेदवार तय गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *