नारायणगढ–मुग्लिन सडकमा प्रत्येक ५० मिटरमा पहिरो

किशोर खनाल, नारायणगढ । बुधबार साँझ ७ः३५ बजेबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक बिहीबार दिनभर खुल्न सकेन । सो सडकमा ठाउँठाउँमा गएको ठूला पहिरोका कारण बिहीबार अवरुद्ध सडक खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी गराए ।
‘बिहीबार राति पहिरो नगए शुक्रबार दिउँसोबाट अवरुद्ध सडक खुल्ने सम्भावना हुन्छ’ प्रहरी निरीक्षक पन्तले भने, ‘राति पहिरो गयो भने शुक्रबार पनि अवरुद्ध सडक खुलाउन गाह्रो हुन्छ ।’
उनका अनसार नारयणगढ मुग्लिन सडकमा (नारायणगढतर्फबाट जाँदा) सेतीदोभानबाट पहिरो सुरु भएको छ । प्रहरी निरीक्षक पन्तले भने, ‘दर्जनौं ठाउँमा पहिरो गएका छन्, हिसाब गर्दा प्रत्येक ५० मिटरको फरकमा एक ठाउँमा पहिरो गएको पाइन्छ ।’ प्रहरी निरीक्षक पन्तका अनुसार सडक अवरुद्ध भएपछि बिहीबार अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
सेतीदोभानबाट सुरु भएको पहिरो दुई किलो, तीन किलो, ९ किलो, घुमाउने, जलविरे, कालिखोलालगायतका ठाउँहरुमा दर्जनौँ ठाउँमा पहिरो गएका छन् । ‘१५ जति ठाउँमा पहिरो भेटिन्छ’ प्रहरी निरीक्षक पन्तले भने, ‘बिहीबार दिनभर खुलाउने प्रयास हुँदा पनि सकिएन ।’ उनले राति पहिरो पन्छाउन गाह्रो हुने बताए ।
पहिरोका कारण बीचमा फसेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको पन्तको भनाइ थियो । पहिरो पन्छाउन र एक्साभेटर र लोडर परिचालन गरिएको छ । सबैभन्दा ठूलो पहिरो कालिखोलाको चेपाङडाँडामा खसेको थियो ।

पहिरोले बस बगायो, जिप पु¥यो
काठमाडौँबाट इलामको लागि छुटेको बसलाई पहिरोले बगाएको छ । तर, बसका यात्रुहरु सकुशल रहेका छन् । पहिरो खसेको देखेपछि चालकले बसलाई रोकेर यात्रुलाई झारेका थिए । यात्र सँबै निस्केर सुरक्षित ठाउँमा गएपछि बसलाई पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो । इलामको लागि छुटेको यात्रुवाहक बसेमा २३ जना यात्रु थिए ।
घटनास्थल कालीखोला नजिकै पर्छ । यो ठाउँ मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमटर यता पर्छ । ना ६ ख ७१२१ नम्बरको बस पहिरोमा परेको हो । त्यस्तै, बा १५ च ९३८१ नंको स्करपिया जिपलाई पनि पहिरोले पुरेको छ । जीपका चालकले भागेर ज्यान जोगाएका थिए ।
त्यस्तै मालबहाक दुई ट्रकलाई पनि कालीखोलाको चेपाङ डाँडामा झरेको पहिरोले पुरेको छ । दुबै ट्रकका ट्रक चालक भागेर ज्यान जोगाउन सफल भएका छन् । इलामको लागि छुटेको बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आधा पुरिएर रहेका दुई ट्रकलाई बिहीबार साँझसम्म निकालिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *