विश्व कीर्तिमानी रकममा नेइमार पिएसजीमा अनुबन्धित

साउन १९, मकालु खबर । ब्राजिलका सुपरस्टार नेइमार विश्व कीर्तिमानी रकम करिब २६ अर्ब ६४ करोड (१९ करोड ८० लाख पाउण्ड) मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबमा स्थानान्तरण हुने पक्का भएको छ । उनलाई पाँच वर्षका लागि फ्रेन्च क्लबले अनुबन्धित गर्न लागेको हो । उनले पिएसजीबाट साताको करिब ८ करोड १ लाख (५ लाख ९६ हजार पाउण्ड) पारिश्रमिक पाउने छन् । यस्तै, सम्झौता पत्रमा हस्ताक्षर गरेबापत थप ६ अर्ब ५ करोड ५० लाख (४ करोड ५० लाख पाउण्ड) पाउने बताइएको छ ।

उनलाई अनुबन्ध गर्न पिएसजीले कूल ५३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ (३९ करोड ८० लाख पाउण्ड) खर्चिन लागेको हो ।२५ वर्षीय नेइमार पिएसजीसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नु अघि मेडिकल चेकअपका लागि बुधबार विहान पोर्चुगलको पोर्टो उडेका छन् । जहाँ उनलाई पिएसजीका खेलकुद निर्देशक आन्टेरो हेनरिकले भेटेका थिए । उनको उपस्थितिमा नेइमारको मेडिकल चेक अप हुँदैछ ।

पोर्टोतर्फ उड्नु अघि बुधबार नेइमारले बार्सिलोनाका आफ्ना सहपाठीसँग क्याम्प नोउमा भेट गरेका थिए । उनले करिब ४० मिनेट बार्सिलोनाको ट्रेनिङ क्याम्पमा आफ्ना सहपाठीसँग बिताए । फर्किने बेला क्लबका निर्देशकसहित सबै साथीहरुसँग उनले बिदा मागेका थिए ।

नेइमारको अनुबन्धको हल्ला धेरै अगाडिदेखि चले पनि उनी पिएसजी जाने आधिकारीक जानकारी दुवै क्लबले दिएका थिएनन् । तर, बुधबार राती पिएसजीसँग सम्झौता गराउने नेइमारका एजेन्ट बेङ्गर रिबेइरोले पहिलो पल्ट मौनता तोडेका थिए । उनले अघिल्लो ४८ घण्टा भित्र नेइमार पेरिसमा उपस्थित हुने र आउँदो शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर हुन सक्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *