लामो खडेरीपछि वर्षा, किसान खुशी तर सदरमुकाम जलमग्न

सर्लाही, साउन १९ । गएरातीदेखि सर्लाहीका सबैजसो ठाउँमा पानी परिरहेको छ । लामो खडेरीपछि पानी पर्दा किसानहरु खुशी भएका छन् । साउन दोस्रो साता बिति सक्दासमेत प्रशस्त पानी नपर्दा किसानहरु चिन्तित भएका थिए । अहिले परिरहेको पानीले बाँझो रहेका खेतमा रोपाइँ गर्न सहज हुने कृषि प्राविधिकहरुले बताएका छन् ।

तर धानको ब्याड छिप्पीसकेकाले अन्यौलमा परेको किसानहरुको भनाइ छ । लगातारको वर्षाले वर्षौ देखि बिग्रिएर नाजुक अवस्थामा रहेको हुलाकी र ग्रामीण सडक हिलाम्मे भएका छन् । सदरमुकाम मलंगवाबाट पश्चिम र पूर्वी जाने सडकहरुमा हिड्नै नसक्ने गरि पानी जमेको छ । पानी नपर्दा धुलाम्मे र पानीपरेपछि हिलाम्मे हुने सडकका कारण स्थानीयको दैनिकी कष्टकर बनेको छ । ढलको उचित व्यवस्था नहुँदा जिल्ला सदरमुकाम मलंगवा समेत जलमग्न बनेको छ ।

लगातार पानी परिरहँदा सर्लाहीको बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, झिम, मनुषमारा लगायतका खोलाखोल्सी र नहरमा पानीको बहाव बढेको छ । निरन्तर पानीपरिरहेकाले खोलाखोल्सी नजिकै बसोवास गर्ने सर्वसाधारणलाई सतर्क हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *