मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाई जेल चलान

कैलाली, साउन १९ । गैरकानूनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाई जेल चलान गरिएको छ । उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैङ्किङ् कसुर अन्तर्गत पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

उच्च अदालतको वाणिज्य इजलासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपैया धरौटी रकम तोकेको थियो । दुवै जनाले धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि नेपालगञ्जकै कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

१४ लाख रुपैयाको चेक बाउन्स भएपछि रेखा अधिकारीले कविता चौधरी विरुद्ध उजुरी दिनु भएको थियो । प्रहरीले चौधरीलाई असार २८ गते पक्राउ गरी वाणिज्य इजलासका लागि उच्च अदालत नेपालगञ्जलाई बुझाएको थियो । यसैगरी सात लाख २९ हजार रुपैया चेक बाउन्स भएको आधारमा कल्पना जोशीले मञ्जु बम विरुद्ध उजुरी दिनु भएको थियो ।

उजुरी लगत्तै प्रहरीले मञ्जुलाई पक्राउ गरी थप कारबाहीका लागि उच्च अदालत नेपालगञ्ज पठाएको थियो । पुर्पक्षका लागि कारागार चलान गरिएका दुवै जनाले धरौटी रकम बुझाएपछि छुट्न सक्ने प्रहरी नायब उपरीक्षक बुढामगरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *