पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा, १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो कुरा जानकारी गराउनुभएको हो ।

उहाँले ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना व्यक्ति निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिसकिएको बताउनुभयो । निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताउनुभयो ।

पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै उहाँले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गर्नुभयो । विमानस्थल तयार भइसकेपछि तत्काल उपयोगमा आउने किसिमले हवाई मार्ग तयलगायतका विषय पनि सँगसँगै अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवात सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताउनुभयो ।

स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत सम्बोधन गर्दै अघि बढिने बताउँदै उहाँले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग अपरिहार्य हुने उल्लेख गर्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माण कार्य सकिने जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले पूर्वतयारीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै चिनियाँ निर्माण कम्पनीको स्वागत गरेको छ । हाल निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्याण्डफिडसाइडको व्यवस्थापन गर्न महानगरपालिकालाई र बाँकी जग्गा अधिग्रहणका सम्पूर्ण प्रक्रिया आगामी भदौ १५ भित्र सक्न प्रमुख जिल्ला अधिकारीलाई उहाँले आग्रह गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सांसदद्वय शारदा पौडेल र सीता गिरी, विमानस्थल निर्माण आयोजना निर्देशक प्रदीप अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशंकर पालिखे, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलगायतले निर्धारित समयमा नै विमानस्थल निर्माण हुनुपर्ने र त्यससँगै आवश्यक पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *