सुकुम्वासी संघ,संगठनको चेतावनी- तत्काल लालपुर्जा वितरण नगरे कडा आन्दोलन सुरु हुन्छ

काठमाडौँ । विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्वासीसँग सम्बन्धित संघ, सङ्गठनहरूले सुकुम्वासीलाई तत्काल लाजपूर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध अखिल नेपाल सुकुम्वासी संघलगायतका संघ, सङ्गठनहरूले सरकारलाई यस्तो चेतावनी दिएको हो ।
सरकारले सुकुम्वासीले व्यवस्थापन गरेर ढाँट्ने, छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुम्वासी संघका इन्जार्ज नहेन्द्र खड्काले त्यसका विरुद्ध आफूले सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले सुकुमबासीहरुका लागि तत्काल लालपुर्जा दिने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा आफूहरू जाने चेतावनी दिए ।
उनले भने ‘अखिल नेपाल सुकुम्वासी संघले चाहन्छ–हामीले संघर्ष गर्न नपरोस् । तपाईँहरूले लालपुर्जा दिनुहोस् । विधिमा दिनुहोस्, पद्धतिमा दिनुहोस् । हामीलाई संघर्ष गर्न नपरोस् । त्यो होइन लपनछप्पन गर्नेतिर जानुभयो भने हामी संघर्ष गर्नेछौँ । र यो ७० लाखभन्दा धेरै सुकुम्वासीहरूको संघर्ष, हजारौँ किसानहरूको संघर्ष, दलितहरूको संघर्ष, उत्पीडनमा परेका जाति, वर्ग र समुदायको सङ्घर्षले तपाई र तपाई जस्ता शासकहरूको अन्त्य गर्नेछ ।’
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिब सुकुम्वासी नागरिकलाई पीडा दिने सीमा समेत नाघेको भन्दै आक्रोश व्यक्त गरे । उनले जनतालाई ढाँटेर शासन सञ्चालन गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराए ।
कार्यवाहक अध्यक्ष परिश्रमीले भने ‘हामी गरिबलाई त तिमीले सुकुम्वासी, भूमिहीन, दलित सुकुम्वासी, अव्यवस्थित बसोबासीका लागि बनेको ऐन, कानुन त सरकारले लत्यायो, लत्यायो । अव देश र जनतालाई नै राष्ट्रियता सम्बन्धी खतरामा पार्नका लागि यदि उन्मुख छ भने खवरदार सरकार यो देश तिम्रो मात्रै होइन । यो देश हाम्रो पनि हो । पञ्चायतकाल, राणाकालमा लड्ने जनताहरूको पनि हो । गणतन्त्रका लागि लड्ने जनताको पनि हो । समग्र नेपाली जनताको हो । यो कालकोठरीबाट जनतालाई ढाँटेर डोजर लगायौँ । शासन चलायो । अव नचलाऊ । अव अति भयो ।’
कार्यवाहक अध्यक्ष परिश्रमीले सरकार मुलुकको राष्ट्रियता नै खतरामा पार्ने षड्यन्त्रमा लागि परेको आरोप पनि लगाए ।








