‘स्यालसिंह’ रंगमञ्चमा : अभिनयमार्फत जीवन्त बन्यो कक्षा ८ को दन्त्यकथा (तस्बिरहरू)

काठमाडौं। विद्यालय पाठ्यपुस्तकमा समावेश दन्त्यकथा ‘स्यालसिंह’ अहिले रंगमञ्चमा जीवन्त बनेको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समेटिएको कथामा आधारित यो नाटकको मञ्चन एक थिएटर नेपालले शुक्रबार (असार १२) देखि थापागाउँस्थित कुञ्ज थिएटरमा सुरु गरेको हो।
तीर्थराज विश्वकर्माको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकले पाठ्यपुस्तकमा पढिने कथालाई अभिनय, संवाद, प्रकाश, सङ्गीत र आकर्षक मञ्च संरचनामार्फत प्रभावशाली ढंगले दर्शकमाझ प्रस्तुत गरेको छ।
नाटकमा सिंहको करुणाबाट ज्यान बचाएको एउटा स्यालको कथा मुख्य केन्द्रमा रहेको छ। सिंहको खोरमा हुर्केको स्यालले देखाउने बाहिरी आडम्बर, झुटो प्रतिष्ठा र अहंकार नै नाटकको मुख्य कथा रहेको छ।
‘स्यालसिंह’ ले कसैको वास्तविक मूल्य उसको चरित्र र कर्मबाट निर्धारण हुने सन्देश दिन्छ। नाटकमा स्यालको पात्रमार्फत देखावटी शक्तिको मोह, त्यसबाट उत्पन्न भ्रम र अन्ततः सत्यको वास्तविकतालाई कलात्मक रूपमा चित्रण गरिएको छ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहेको छ।
यो नाटक असार २३ गतेसम्म बुधवार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ। साथै, प्रत्येक शनिबार दिउँसो १ः३० बजे अतिरिक्त शो पनि प्रदर्शन गरिने थिएटरले जनाएको छ।
तस्बिरहरुः–










