लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ

काठमाडौँ । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ ।

लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार लागुऔषध नियन्त्रण र रोकथामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई नीतिगत रूपमा सुदृढ गर्न विभाग स्थापना गर्ने तयारी गरिएको हो ।

‘अहिले भएको संगठन संरचना ओएनएम सर्भेमा विभागको स्थापना गर्ने कि भन्ने हिसाबले पहल गरेका छौँ । लागुऔषध नियन्त्रण तथा रोकथाम सम्बन्धी विभागको संरचनाको सोचाइ छ । तर त्यो पास भइसकेको अवस्था छैन,’ उनले भने ।

गृहसचिव श्रेष्ठले पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित पक्षलाई सोही अनुसार काम गर्न निर्देशन दिए ।

उनले लागुऔषध नियन्त्रण तथा रोकथाममा संलग्न सबै संस्थालाई सरकारसँग सूचीकृत र समन्वयमा आउन आग्रह पनि गरे ।

‘पुनःस्थापना सञ्चालनका लागि जुन न्यूनतम मापदण्ड छ, त्यो पूरा गरेर सञ्चालन गर्नेतर्फ हाम्रो भूमिका रहनुपर्छ । सरकारी तवरबाट पनि हुन्छ, यहाँहरूको तवरबाट पनि पहल हुनुपर्छ,’ उनले भने ।

साथै उनले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानमा अझ सक्रिय हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =