फिफा विश्वकप २०२६: समूह डी, ई र एफको अन्तिम खेलमा रोमाञ्चक भिडन्त हुँदै
को को पुग्लान् नकआउट चरणमा ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुग्दा शुक्रवार समूह डी, ई र एफका टिमहरुको अन्तिम लिग खेलहरू हुँदै छ। नकआउट चरणको टिकट सुनिश्चित गर्ने र बाहिरिने टोलीको टुङ्गो लाग्ने भएकाले यी खेलहरू विशेष महत्वका मानिएका छन्।
समूह डीमा शीर्ष स्थानमा रहेको अमेरिका ६ अङ्कसहित नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाले शुक्रवार टर्कीसँग खेल्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ। दुई खेलमा लगातार हार बेहोरेको टर्की अङ्कविहीन अवस्थामा रहेकाले प्रतिष्ठाका लागि मैदान उत्रिनेछ। अर्को खेलमा अस्ट्रेलिया र पाराग्वे आमनेसामने हुँदै छन्। दुवै टोलीको समान ३–३ अङ्क रहेकाले यो खेलको विजेताले नकआउट चरणमा स्थान बनाउने छ। यी खेलहरू नेपाली समय अनुसार शुक्रवार बिहान ७:४५ बजे हुनेछन्।
यसै गरी समूह ईमा जर्मनी लगातार दुई जितसहित ६ अङ्क जोडेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अन्तिम खेलमा जर्मनीले इक्वेडरको सामना गर्दै छ। इक्वेडरको १ अङ्क रहेकाले उसलाई अघिल्लो चरण पुग्न जित अनिवार्य जस्तै छ। अर्को खेलमा आइभरी कोस्ट र कुरासाओ भिड्नेछन्। आइभरी कोस्टको ३ अङ्क र कुरासाओको १ अङ्क रहेकाले दुवै टोलीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा हुनेछ। यी खेलहरू नेपाली समय अनुसार शुक्रवार बिहान १:४५ बजे हुनेछन्।
सबैभन्दा प्रतिस्पर्धात्मक अवस्था भने समूह एफमा देखिएको छ। नेदरल्यान्ड्स र जापान समान ४–४ अङ्कसहित शीर्ष दुई स्थानमा छन् भने स्विडेन ३ अङ्कसहित पछ्याइरहेको छ। अङ्कविहीन ट्युनिसिया भने बाहिरिने सङ्घारमा छ। अन्तिम खेलमा जापान र स्विडेन भिड्नेछन्। जापानलाई बराबरीले पनि नकआउट चरणको ढोका खोल्न सक्छ भने स्विडेनलाई जित आवश्यक हुन सक्छ। अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियाको सामना गर्नेछ, जहाँ डच टोली स्पष्ट रूपमा नकआउट चरण प्रवेशको लक्ष्यसहित मैदान उत्रिनेछ। यी खेलहरू नेपाली समय अनुसार शुक्रवार बिहान ४:४५ बजे हुनेछन्।
समूह चरणका यी अन्तिम खेलहरूले नकआउट चरणको समीकरण मात्र तय गर्ने छैनन्, विश्वकपको रोमाञ्चक यात्रामा थप नयाँ कथा पनि लेख्ने अपेक्षा गरिएको छ। शुक्रवारका खेलहरूपछि अन्तिम ३२ मा पुग्ने थप टोलीहरूको टुङ्गो लाग्नेछ।










