गुटबन्दी होइन, जनताको विश्वास जितेर राजनीति गर्नुपर्छ: बालेन

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले राजनीतिमा स्थापित हुन कुनै समूह वा गुटको सहारा खोज्नुको सट्टा जनताको आस्था, माया र विश्वास जित्नुपर्ने बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिक संस्कारको आडमा हुने गुटबन्दीको कडा आलोचना गरे । पार्टीभित्र भविष्यमा मौलाउन सक्ने गुट र उपगुटको संस्कृतिप्रति सचेत गराउँदै उनले नयाँ पार्टी भएकाले पुराना दलका कमजोरीबाट पाठ सिकेर नयाँ सोच र अभ्यासका साथ अघि बढ्नुपर्ने बताए ।
साहले भने, ‘राम्रो राजनीतिज्ञ बन्न जनताको माया र भरोसा चाहिन्छ, कुनै समूहको छहारी होइन । भविष्यमा रुख बनेर काट्नुपर्ने गरी गुटबन्दीको बीजारोपण अहिले नै नगरौँ ।’
उनले सरकारको प्राथमिकता सुशासन कायम गर्नु र सुकुम्बासी तथा सहकारी क्षेत्रका विद्यमान समस्या समाधान गर्नु रहेको स्पष्ट पारे ।
साहले भने, ‘हामीले सुशासन र सुकुम्बासी समस्या समाधानको जुन एजेण्डा बोकेका छौँ, ती यही कार्यकालभित्रै सम्पन्न गर्नेछौँ । आगामी निर्वाचनमा हामी पुरानै एजेण्डा लिएर होइन, नयाँ कार्यसूचीका साथ जनतामाझ जानेछौँ ।’
उनले रास्वपाको एकल सरकार रहेकाले सरकार र संगठनबीचको सम्बन्ध थप प्रगाढ हुनुपर्नेमा जोड दिए । पार्टीका हरेक नेता, कार्यकर्ता र शुभचिन्तकले आफूलाई सरकारको अभिन्न अङ्गका रूपमा महसुस गर्नुपर्ने उनको भनाइ थियो ।
साहले भने, ‘हाम्रो एकल पार्टीको सरकार हो । यहाँ हरेक कार्यकर्ता र सांसद प्रधानमन्त्री सरह हुन् । निर्वाचनमा पराजित हुनुभएका साथीहरूले पनि आफूसँग भएका योजना र सुझावहरू पार्टीमार्फत सरकारलाई दिन सक्नुहुनेछ ।’
उनले निर्वाचनमा पद प्राप्त नभए पनि निराश नहुन आग्रह गर्दै सबैको योगदान पार्टी र सरकारका लागि समान रूपमा महत्वपूर्ण रहने बताए ।
साहले महाधिवेशनपछि पार्टीभित्रको एकता थप मजबुत बनाउँदै आगामी पाँच वर्ष देशको समृद्धि र विकासका लागि पूर्ण रूपमा समर्पित हुनुपर्नेमा जोड दिए ।









