मधेस सभामुख मण्डलको आरोप- सङ्घीय सरकारले सङ्घीयतालाई कमजोर बनाउन खोज्यो

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सङ्घीय सरकारले सङ्घीयतालाई सबल बनाउनुको साटो कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकाको १७ औँ नगरसभालाई सम्बोधन गर्दै सभामुख मण्डलले सङ्घीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

सभामुख मण्डलले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई संवैधानिक अधिकार सम्पन्न सरकारको रूपमा स्वीकार गर्नुको साटो आफ्नो प्रशासनिक निकायको रूपमा मात्र प्रयोग गर्न खोजेको बताए ।

मटिहानी नगरपालिकाको उदाहरण दिँदै सभामुख मण्डलले मानव विकास सूचकाङ्क (एचडीआई) मा पछि परेका क्षेत्रलाई प्राथमिकता दिनुको साटो न्यून अनुदान दिएर विभेद गरिएको उल्लेख गरे । विपन्न र दलित समुदायको बाहुल्यता रहेको मटिहानीले समानीकरण अनुदानतर्फ मात्र १० करोड रुपैयाँ प्राप्त गर्नु अन्यायपूर्ण रहेको उनको तर्क थियो ।

उनले भने ‘सङ्घीय सरकारले कुल बजेटको ७० प्रतिशत हिस्सा केन्द्रमै राखेर प्रदेश र स्थानीय तहलाई १५/१५ प्रतिशत मात्र बजेट बाँडफाँड गरेको छ । यो सङ्घीयताको मर्म विपरीत छ ।’

उनले सङ्घीयतालाई मजबुत बनाउन संविधानले दिएको अधिकारहरूको निर्बाध प्रयोग गर्न पाउने वातावरण हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =