प्रधानमन्त्रीको तर्फबाट प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हालिरहेकाले उक्त मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने थियो । तर, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था छ । तर, यी निकायसँग सम्बन्धित प्रश्नहरूको जवाफसमेत अर्थमन्त्री वाग्लेले दिने कार्यसूची तय भएको छ ।

अर्थमन्त्री वाग्लेले आज अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि दिनेछन् ।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसद्मा जवाफ दिएका थिए । बजेटमाथिको छलफलमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =