राहदानी छपाइ प्रकरणमा चार जना पक्राउ, सिद्धार्थ थापा कहाँ छन् ? जयवीरको नाम पनि चर्चामा

काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरेको छ । आयोग स्रोतका अनुसार अनुसन्धानका क्रममा केही व्यक्ति फरार रहेका छन् भने आवश्यक सोधपुछका लागि बोलाइएका केही व्यक्ति सम्पर्कमा आएका छैनन् ।

अख्तियारले सोमबार महानिर्देशक अर्याललाई पक्राउ गरेको थियो । त्यसपछि मंगलबार विभागका निर्देशक सुनीलकुमार केसी तथा बुधबार तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी म्युहलबौयरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल पक्राउ परेका हुन् । उनीहरूलाई हाल अख्तियारकै हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

यस प्रकरणमा फ्रान्सेली कम्पनी आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटीका नेपाली प्रतिनिधि सिद्धार्थ थापा सम्पर्कविहीन रहेको अख्तियार स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि बोलाइएका थापा पक्राउ प्रक्रिया अघि बढेपछि सम्पर्कमा नरहेको स्रोतको दाबी छ ।

थापा राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेस नेता सुनीलकुमार थापाका छोरा एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका नाति हुन् ।

राहदानी छपाइका लागि गरिएको बहु–अर्ब रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो । उक्त खरिद प्रक्रियामा फ्रान्सेली कम्पनी आइडिमिया, जर्मन कम्पनी म्युहलबौयर तथा पोल्यान्डको पोलस्का र जर्मनीको भेरिडस सहभागी भएका थिए । ठेक्काको अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ रहेको बताइएको छ ।

ठेक्का सम्झौताअनुसार पाँच वर्षभित्र ६४ लाख राहदानी आपूर्ति गर्नुपर्ने व्यवस्था थियो । सोही प्रक्रियाको मूल्यांकन समितिको अध्यक्ष तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले मन्त्रीस्तरीय निर्णयमार्फत महानिर्देशक अर्याललाई बनाएकी थिइन् ।

जयवीरसिंह देउवाको नाम पनि चर्चामा

अख्तियार स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. राणाका छोरा जयवीरसिंह देउवासँग सम्बन्धित केही विषयमा समेत अनुसन्धानकर्ताले चासो देखाएका छन् । यद्यपि उनीविरुद्ध हालसम्म कुनै अभियोग दर्ता भएको छैन ।

स्रोतका अनुसार राहदानी छपाइ प्रक्रियासम्बन्धी विभिन्न अनौपचारिक छलफलमा उनको संलग्नता रहेको विषयबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा केही विषयमा स्पष्टता आवश्यक देखिएकाले उनीसँग बयान लिनुपर्ने अवस्था आउन सक्ने स्रोतको भनाइ छ ।

सिद्धार्थ थापा कहाँ छन् ?

अख्तियार स्रोतका अनुसार महानिर्देशक अर्याल पक्राउ परेपछि सिद्धार्थ थापा सम्पर्कविहीन भएका हुन् । उनी देशभित्र छन् वा बाहिर गइसकेका छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।

स्रोतले पक्राउको पूर्वसूचना पाएपछि उनी स्थलमार्ग हुँदै भारततर्फ गएको आशंका गरेको छ । यद्यपि यसको औपचारिक पुष्टि भने भएको छैन ।

अख्तियारले खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका अधिकारीहरूसँग पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको जनाएको छ । म्युहलबौयरका सञ्चालक गेरहार्ड म्युरर र पाभ्ले राहिस तथा भेरिडसका प्रतिनिधिहरूलाई इमेलमार्फत सम्पर्क गरिएको स्रोतले जनाएको छ ।

उनीहरूले प्रत्यक्ष वा भर्चुअल माध्यमबाट अनुसन्धानमा सहयोग गर्न तयार रहेको जानकारी दिएको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयबारे उठ्यो प्रश्न

यसबीच, महानिर्देशक अर्याललाई अख्तियारले अनुसन्धानका क्रममा नभई प्रधानमन्त्री कार्यालयमा बोलाएर अख्तियारको जिम्मा लगाइएको भन्ने दाबीसमेत सार्वजनिक भएको छ । यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन ।

त्यस्तै, अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब र दुव्र्यवहार गरिएको आरोप पनि सार्वजनिक भएको छ । यो विषय बिहीबार प्रतिनिधिसभा बैठकमा समेत उठेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले संवैधानिक निकायका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्की दिइएको आरोप लगाएका छन् । नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्री कार्यालयको दुरुपयोग भएको दाबी गर्दै सरकारसँग जवाफ मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =