सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको विकास बढी भन्दा बढी गर्ने रहेको छ: मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

मन्त्री पुनले एआई, आइटीको विकासमा बढी भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गरे । उनले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गर्ने विषय मात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।

मन्त्री पुनले भने ‘अहिलेको सरकारको मुख्य उद्देश्य अव यही छ–एआई, आईटीलाई कसरी बढी भन्दा बढी गरेर यसलाई अगाडि भन्ने छ सरकारको । त्यसैले प्रधानमन्त्रीज्युले यो आइटी सम्बन्धी सबै जिम्मेवार चाहिँ पहिला सञ्चार मन्त्रालयका थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ । र, यो उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो । यो उहाँले राख्नु भएको कुरा यसमा पनि छ । अर्को उहाँले नवप्रवर्तन भएर कुनै कुरा निस्कन्छ भने त्यो चिज उद्योगहरूले उपभोग गर्न पाउनु पर्छ भन्ने उहाँको माग छ । कसैले नयाँ कुराहरूको आविष्कार गर्याे, नवप्रवर्तन गर्याे भने त्यो कुरा उद्योगहरूले उपयोग गर्न पाउनु पर्याे । गर्ने पनि त्यही नै हो । त्यो अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गरेको मात्रे होइन, त्यसको उपयोग उद्योगहरुले् नै गर्ने हो । त्यसका लागि हामीले जोड दिनु पर्दछ । अहिले त्यो कुरा जोड दिइएको नै छैन । त्यो कुरा उद्योगपतिहरूलाई पनि थाहा छैन ।’

मन्त्री पुनले आइटीको प्रयोग गरेर उद्योगहरूको प्रवर्द्धन हुन्छ भन्नेकुरा उद्योगीहरूलाई पनि थाहा नभएको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =