प्रतिपक्षको रचनात्मक भुमिकालाई कमजोरीको रूपमा नलिनुस्ः सांसद रमेश मल्ल

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सरकारको आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीले राष्ट्रियता र भौगोलिक अखण्डतासम्बन्धी दिएको अभिव्यक्ति सच्याउँदै संसद्मा माफी माग्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले विगत तीन सातादेखि प्रतिपक्ष निरन्तर संघर्षमा रहेको उल्लेख गर्दै बहुमतको बलमा प्रतिनिधिसभा नियमावली पारित गरिएको भन्दै आपत्ति जनाए । संविधानको मर्मविपरीत केही व्यवस्था नियमावलीमा समावेश गरिएको तथा त्यस विषयमा पर्याप्त संवादको वातावरण नबनाइएको उनको आरोप थियो ।

मल्लले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेका केही शब्द राष्ट्रियता र भौगोलिक अखण्डताको भावनाविपरीत रहेको दाबी गरे । उनले ती अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को अभिलेखबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले देशको सीमाना र सार्वभौमसत्ताका विषयमा जुन त्रुटिपूर्ण अभिव्यक्ति दिनुभएको छ, ती शब्दहरू फिर्ता लिइनुपर्छ । उहाँले रोस्ट्रममा उभिएर देश र जनतासँग माफी माग्नुपर्छ र ती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्छ ।’

सांसद मल्लले सरकारको कार्यशैली र प्रयोग हुने भाषाप्रति पनि असन्तुष्टि जनाए । नागरिक, विपक्षी दल र सर्वसाधारणप्रति सरकारको भाषा प्रतिशोधपूर्ण र अमर्यादित बन्दै गएको उनको भनाइ थियो । सरकारी संयन्त्र तथा कर्मचारीमार्फत नागरिकमाथि हुने व्यवहारले लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले प्रधानमन्त्री कार्यालयबाट शक्ति र सत्ताको दुरुपयोग भइरहेको गम्भीर आरोपसमेत लगाए । संवैधानिक आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिने तथा कारबाहीका लागि बाध्य पार्ने प्रयास भएको भन्ने चर्चाप्रति ध्यानाकर्षण गराउँदै उनले त्यस विषयमा स्पष्टता आवश्यक रहेको बताए ।

सांसद मल्लले प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरीका रूपमा नलिन सरकारलाई चेतावनी दिँदै जनमतको सम्मान गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =