यातायात क्षेत्र सुधार्न सरकार र व्यवसायीबीच एकता आवश्यकः अध्यक्ष श्रेष्ठ

काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) का अध्यक्ष विनोद श्रेष्ठले यातायात क्षेत्रमा विद्यमान समस्याहरूको समाधानका लागि सरकार, व्यवसायी र श्रमिकबीचको त्रिपक्षीय सहकार्य र एकतामा जोड दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो धारणा व्यक्त गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रमा हाल ६० प्रतिशतभन्दा बढी स्वरोजगारको स्थिति रहेको जानकारी दिए ।

पछिल्लो समय ‘प्लेटफर्म इकोनोमी’ का रूपमा उदाएका राइड शेयरिङ लगायतका सेवाहरूले यातायात क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई नयाँ ढङ्गबाट वर्गीकरण गरी व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष श्रेष्ठले व्यवसायी र श्रमिक पक्षबीचको सम्बन्ध सुदृढ बन्दै गएको चर्चा गर्दै अब सरकारले पनि यस क्षेत्रलाई व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्ने बताए ।

यातायात क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरूलाई आग्रह–पूर्वाग्रह त्यागेर एकताबद्ध हुन उनले आह्वान गरे । केवल माग मात्र राख्ने परिपाटीभन्दा पनि ती मागहरू सम्बोधन गराउने तहसम्म पुग्नका लागि व्यवसायीहरूमा साहस र एकता हुनुपर्ने उनको तर्क थियो ।

नवनिर्वाचित नेतृत्वलाई सफल बनाउन सम्पूर्ण व्यवसायीहरूको साथ र सहयोग आवश्यक रहने बताउँदै अध्यक्ष श्रेष्ठले सबल नेतृत्वले मात्रै समग्र यातायात क्षेत्रको हितमा काम गर्नसक्ने विश्वास व्यक्त गरे । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =