आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछ: प्रमुख कोइराला

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनलाई लक्षित गर्दै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले करिब एक साताभित्रै मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर प्रतिकार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताए ।
उनकाअनुसार जल तथा मौसम विज्ञान विभागले दिएको मनसुन पूर्वानुमानअनुसार यस वर्ष सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेपनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने देखिएको छ । यस्तो अवस्थाले स्थानीय रूपमा ठूलो विपद् निम्त्याउन सक्ने उनको भनाई छ । सोहीअनुसार तयारीलाई व्यवस्थित बनाइएको उनले जानकारी दिए ।
उनले विभिन्न मन्त्रालयलाई ‘क्लस्टर लिड’ र ‘को–लिड’ को जिम्मेवारी दिएर आ–आफ्नो क्षेत्रगत तयारी अगाडि बढाएको बताए । गैरसरकारी क्षेत्रलाई समेत एकीकृत गर्दै सरकारी तथा गैरसरकारी निकायबीच सहकार्यको संयन्त्र पनि तयार गरिएको उनको भनाई छ । प्राधिकरणले बिहीबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुनजन्य विपद्का लागि प्रतिकार्य पूर्वतयारीका बारेमा छलफल गरेको उनले जानकारी दिए ।
छलफलमा गृहमन्त्रीमन्त्री गुरुङले देशभरका गोदामघर तथा विभिन्न सरोकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन दिएको उनले बताए । कोईरालाकाअनुसार गृहमन्त्री गुरुङले विपद्का बेला आवश्यक सामग्री कहाँ–कहाँ छन्, कुन सामग्री कसरी परिचालन गर्न सकिन्छ, उद्धार तथा प्रतिकार्यमा खटिने जनशक्ति को हुन् भन्ने सम्पूर्ण विवरण एकीकृत डिजिटल प्रणालीमा राख्नुपर्नेमा जोड दिएका हुन् ।
आवश्यक सूचना प्राप्त हुने, सामग्री र जनशक्ति परिचालनमा अन्योल नहुने तथा समन्वय सहज हुने गरी कम्प्युटर प्रणालीलाई प्रभावकारी बनाउन पनि गृहमन्त्रीले निर्देशन दिएको उनले जानकारी दिए । गृहमन्त्रीको निर्देशनअनुसार प्राधिकरणले आफ्नो प्रणालीमा आवश्यक परिमार्जन गर्ने प्रमुख कोइरालाको भनाई छ ।
गृहमन्त्रीको मुख्य निर्देशन जनधनको क्षति न्यूनतम बनाउनेतर्फ केन्द्रित रहेको कोइरालाले बताए । उनकाअनुसार गृहमन्त्रीले विपद्का घटनाबारे नियमित अद्यावधिक अभिलेख राख्ने, सूचना प्रणाली सुदृढ बनाउने तथा समन्वय संयन्त्रलाई प्रभावकारी बनाउँदै प्रतिकार्यमा सबै निकायलाई निर्देशन दिएका थिए ।
उनले भने ‘जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिएको छ । अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिराछौँ भन्ने सन्दर्भमा छलफल थियो । यसपालिको पूर्वानुमान सरदर भन्दा कम पानी पर्ने तर कम परेपनि कुनै ठाउँमा धेरै पानी पर्न सक्ने भन्ने छ । एकै ठाउँमा धेरै पानी पर्ने भनेपछि विपद् हिसाबले त्यो संवेदनशील नै भयो । हामीले त्यही विषयमा तयारीको प्राधिकरणले गरिरहेको छ । हामीले यो क्लस्टर लिड र को–लिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छौँ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नुभएको छ । यसमा प्रदेश सरकार र स्थानीय तहको अझ बढी जिम्मेवारी हुन्छ । माननीय मन्त्रीज्यूले विपद्का सामग्रीहरू कहाँ कहाँ छ ? ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रेस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को हो भन्ने जान्ने सिस्टम बनाउनुपर्छ भन्नुभएको छ । कम्प्युटर सिस्टमहरू एकदम अलर्ट सिस्टम राख्ने भनेर उहाँहरूले भन्नुभएको छ त्यसअनुसार हामी केही परिमार्जन गर्छौँ । हामी प्रतिकार्यमा अब करिब करिब अर्को हप्तादेखि जुट्नु पर्ने अवस्था छ । मन्त्रीज्यूको निर्देशन भनेको नै प्रतिकार्य राम्रोसँग गर्नु पर्यो भन्ने छ । जनधनको क्षति कम हुनुपर्यो, यदि त्यो क्षति भयो भने त्यसको जिम्मेवार हामी नै हुन्छौँ । हामी सबै जनाले विपद्लाई अपडेट रेकर्ड राखेर र समन्वय संयन्त्र राम्रो बनाएर प्रतिकार्यमा जुट्नु पर्यो भन्ने खालको निर्देशन छ ।’
कोईरालाकाअनुसार प्राधिकरणले विपद् व्यवस्थापनका तीनवटै चरण—पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभमा काम गर्दै आएको छ । ती तीन वटै कार्यको प्रदेश सरकार र स्थानीय तहको भूमिका अझ महत्त्वपूर्ण रहेको उनले बताए ।









