बजेटले लिएका नीति कार्यान्वयन गर्नेगरी मौद्रिक नीति आउँछ: प्रवक्ता पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार आयोजना गरेको कार्यक्रममा उनले अहिलेको असाधारण परिस्थितिलाई सम्बोधन गर्नका लागि महत्वकांक्षी बजेट ल्याउन सरकारलाई दबाब र आवश्यकता रहेको बताए ।
उनले बजेटमा सुशासनलाई, डिजिटाइजेसनलाई र विद्युतीकरणलाई प्राथमिकता दिएर प्रशासन क्षेत्रलाई अगाडि बढाउन खोजिएकाले आर्थिक वृद्धिको सिनर्जी आउन सक्ने बताए । उनले केही कुरालाई राष्ट्र बैंकले विगतदेखि चालेका कदमलाई अझ बढी प्रभावकारी तरिकाले अगाडि बढाउनलाई बजेटले राष्ट्र बैंकलाई निर्देश गरेको समेत बताए ।
पौडेलले भने ‘यदि कुनै असामान्य परिस्थिति सिर्जना भएन र आपूर्ति श्रृंखलामा हाम्रो नियन्त्रणभन्दा बाहिरका अवरोधहरू उत्पन्न भएनन् भने आर्थिक अवस्था स्थिर रहने अपेक्षा गरिएको छ । मैले संकेत गर्न खोजेको मध्यपूर्वमा देखिएको द्वन्द्वको अवस्था तथा अन्तर्राष्ट्रिय जगतमा देखापरेका विभिन्न प्रकारका तनाव र विभाजनजस्ता विषयहरू हुन् । यस्ता बाह्य परिस्थितिहरूसँग समयानुकूल रूपमा समायोजन गर्न सकियो भने नेपाल राष्ट्र बैंकले बजेटले निर्देशित गरेको ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदरलाई आधार मानेर मौद्रिक नीति सञ्चालन गर्न सक्नेछ । बजेटले नै राष्ट्र बैंकलाई ६ प्रतिशतसम्मको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण गर्न दिशा–निर्देश गरेको छ । वर्तमान परिस्थितिलाई हेर्दा राष्ट्र बैंकले अवलम्बन गरेका नीतिहरू उपयुक्त दिशामा रहेको देखिन्छ । हामीले चैत महिनामा देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिसकेका छौँ र वैशाख महिनाको प्रतिवेदन पनि तयारीको चरणमा छ । चैत महिनाको तथ्याङ्कलाई हेर्दा मुद्रास्फीति दर ४.४७ प्रतिशत रहेको देखिन्छ । यद्यपि चालु आर्थिक वर्षको नौ महिनासम्मको औसत मुद्रास्फीतिलाई हेर्दा आधार प्रभावका कारण यो दर करिब २.३ प्रतिशतको हाराहारीमा सीमित रहने देखिएको छ । त्यसैले, मैले उल्लेख गरेझैँ कुनै असामान्य परिस्थिति सिर्जना नभएसम्म मुद्रास्फीतिलाई ६ प्रतिशतभित्र कायम राख्न नेपाल राष्ट्र बैंक पूर्ण रूपमा सजग रहनेछ । सोही लक्ष्यअनुसार राष्ट्र बैंकले आफ्ना मौद्रिक नीतिका विभिन्न उपकरणहरू आवश्यकताअनुसार परिचालन गर्नेछ र मूल्य स्थायित्व कायम राख्ने दिशामा अग्रसर रहनेछ ।’
उनकाअनुसार फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको छ । यसमा राष्ट्र बैंकले पनि काम गरिरहेको भन्दै उनले बजेटमा नै यो विषय आउँदा झनै छिटो काम हुने विश्वास व्यक्त गरे । पौडेलले उपभोगमा वृद्धि ल्याउनका लागि हायर पर्चेजमा विभिन्न उपभोग्य सामान खरिदमा ऋण लिन मिल्ने व्यवस्था बजेटले गर्न खोजेको उल्लेख गरे ।








