प्रधानमन्त्रीलाई खलनायक बनाउने प्रयास भइरहेको छ: क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले नेपाल–भारत सीमा विवाद दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा भएको बताउँदै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपालले भारतीय भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको पक्ष र विपक्षमा बहस चर्किरहेका बेला धितालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले प्रधानमन्त्रीको विचारलाई खलनायकको रूपमा चित्रण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै विगतका सरकारहरूले पनि छिमेकी राष्ट्रसँग विभिन्न समझदारी र सम्झौताहरू गरेको स्मरण गराएकी छन् । कतिपय सन्धि–सम्झौतामाथि राष्ट्रिय हितका दृष्टिले प्रश्न उठ्ने गरेको भए पनि वर्तमानलाई मूल्याङ्कन गर्दा विगतलाई पनि सम्झनुपर्ने उनको तर्क छ ।

धितालले अघिल्ला सरकारहरूको पालामा उच्चस्तरीय राजनीतिक संवादसमेत हुन नसकेको दाबी गर्दै अहिले कम्तीमा संवाद र वार्तामार्फत समस्या समाधान खोज्ने वातावरण बनेको बताइन् ।

उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई समेत कूटनीतिक तयारीको एक चरणका रूपमा संकेत गर्दै प्रधानमन्त्रीको कुनै पनि भ्रमण एजेन्डाविहीन नहुने बताइन् । उनका अनुसार औपचारिक भ्रमणअघि राजनीतिक, कूटनीतिक र प्राविधिक तहमा लामो समयदेखि संवाद र तयारी हुने गर्छ ।

सांसद धितालले सीमा विवादजस्ता जटिल विषयको मूल्याङ्कन एउटा अभिव्यक्ति, एउटा भ्रमण वा एउटा बैठकका आधारमा गर्न नसकिने बताउँदै यस्ता विषय समाधानका लागि समय, संयम र विश्वास आवश्यक पर्ने धारणा राखिन् ।

उनले प्रधानमन्त्रीलाई खलनायक बनाएर नागरिकहरूमा भय, शंका र अविश्वास फैलाउने तथा कूटनीतिक प्रयासलाई राष्ट्रघातको दृष्टिकोणबाट हेर्ने प्रवृत्तिले समाधानभन्दा अवरोधको राजनीति बढाउने चेतावनी दिइन् ।

धितालले रास्वपाको नेतृत्वबाट राष्ट्रहितविपरीत कुनै सम्झौता नहुने दाबी गर्दै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै सम्बन्ध, दबाब वा स्वार्थ हुन नसक्ने स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =