सुकुम्वासी, गरिब र निमुखा विरोधी पार्टी अहिले सरकारमा छ: राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सुकुम्वासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उनले वर्तमान सरकार गरिब, सुकुम्वासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दाबी गरे । उनले २०८२ साल भदौ २३–२४ गते भएको जेन–जी आन्दोलन योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गर्दै कम्युनिष्ट शक्तिहरूलाई पुनः सङ्घर्षका लागि तयार हुन आह्वान समेत गरे । उनले सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय तथा विभिन्न राजनीतिक नेताहरूका घरहरूमा आगजनी गरेर विनाकारण निर्वाचित संसद्लाई विघटन गरिएको आरोप लगाए ।

निर्वाचित संसद्लाई विघटन गरेर कुनै सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पुर्याउने काम भएको उनको भनाई छ । उनले पार्टी कार्यकर्ताहरूलाई विगतको आत्मसमीक्षा गर्दै पुनः संगठित हुन आग्रह गरे ।

उनले भने ‘२०८२ सालको भाद्र २३ र २४ गते हाम्रो देशमा एउटा ठुलो विध्वंस भयो । यहाँहरूलाई थाहा छ, सर्वोच्च अदालत जल्यो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, प्रधानमन्त्री निवास जल्यो । सारा अदालतदेखि लिएर प्रहरी कार्यालयहरू सबै जले, नेताहरूका घर खोजी खोजी जलाइयो, त्यो विध्वंशपछि संसद्लाई बिना कारण विघटन गरियो, भएको संसद्लाई विघटन गरेर अर्को संसद् जन्माउनतिर लागियो । त्यसैमा एउटा खालको षड्यन्त्र थियो भनेर हामीले बुझ्न जरुरी छ । त्यो षड्यन्त्रपछि आएको सरकार तपाईँ हामीले देखिरहेका छौँ, सिद्धान्त छैन, विचार छैन, कार्यक्रम छैन, लक्ष्य छैन । अहिले त हेर्ने हो भने सुकुम्वासी र गरिब, गरिब निमुखाको विरोधी पार्टी अहिले सरकारमा पुगेको देखिन्छ । त्यो अवस्था हामी व्यवहारबाट देखिरहेका छौँ । हामी लामो लडाइँ लड्यौँ, निरंकुश पञ्चायतलाई फ्याँक्यौं । राजालाई संविधानभित्र बाँध्या थियौँ, निहुँ खोज्न आयो, त्यो राजालाई पनि बिदा ग¥यौँ । सारा गरेर लडेर ल्याउने हामी, जसले पञ्चायत फ्याँक्नमा पनि कुनै योगदान दिएको छैन, राजतन्त्रको विरुद्ध पनि लडेको छैन, कुनै योजना, कुनै भूमिका छैन, त्यो आज अहिले देशको प्रधानमन्त्री, मन्त्री, संसद् सबै ठाउँमा जिम्मा लिएर बसेको छ । उनीहरूलाई यो आन्दोलन, हामीले रगत बगाएको, लडेको, दुःख गरेको, भूमिगत बसेको, अप्ठ्यारो भोगेको, जनयुद्ध, जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यो माया पनि छैन । त्यस्तो शक्ति आज राष्ट्रको मूल ठाउँमा छ । त्यसैले कमरेडहरू हामी एकचोटी गम्भीरतापूर्वक एकचोटी फेरि धुलो टक्टक्याएर उठौँ, माटो समातेर कसम खाऔँ, कि हिजोको भन्दा अझ राम्रो पार्टी हामी निर्माण गरेर जान सक्छौँ, गरौँ, रगत बगाऔँ, दुःख गरौँ भनेर एकचोटी फेरि कसियौँ ।’

उनले पार्टी एकता केन्द्रीय तहका नेताहरूका बीचमा भएपनि तल्लो तहका कार्यकर्ताबीच हुन नसकेको दाबी गरे । उनले पूर्वमाओवादी र पूर्वएकीकककृत समाजवादीको विचारबाट माथि उठ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =