आईजीपी दानबहादुर कार्कीसहित सुरक्षाकर्मीमाथि विभागीय कारबाही सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी (तत्कालीन एआईजी) दानबहादुर कार्कीसहितका सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
जेनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले घटनाका क्रममा मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित कारबाही सिफारिस गरेको हो ।
सिफारिस सूचीमा तत्कालीन एआईजी कार्कीसहित प्रहरी नायव महानिरीक्षक ओमविक्रम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणप्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन् ।
आयोगले उनीहरूलाई मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो ।
त्यस्तै, भदौ २३ गते बानेश्वर र संसद् भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि विभागीय कारबाही गर्न आयोगले सुझाव दिएको छ ।








