रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन: बुर्लाकोटी

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीले जनतालाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकले अपेक्षा गरेअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिइने बताए ।

महामन्त्री बुर्लाकोटीले देशमा विद्यमान बेथिति र विसङ्गतिको अन्त्य गर्न जनताले रास्वपालाई ठूलो जनमतसहित सरकारमा पठाएको दाबी गर्दै विपक्षी दलहरूको विरोधका बाबजुद सुधारका ‘जालाहरू’ तोडेरै छाड्ने बताए ।

उनले जनताको निराशालाई आशामा बदल्न परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै काम गर्नका लागि समय र स्थिरता आवश्यक हुने धारणा राखे ।

‘काम गर्ने बेलामा फोन उठाएर वा संसद्मा बोलेर मात्र नतिजा आउँदैन,’ बुर्लाकोटीले भने, ‘कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गर्छु, हामी काम गरेर देखाउँछौँ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताए ।

उनले पालिका सचिवालय सदस्यहरू नियुक्तिको विषयमा आलोचना भए पनि सहज कार्यसम्पादनका लागि गठन गरिएको संरचना भएको स्पष्ट गर्दै सो संरचना आजै विघटन गरिएको घोषणा पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =