रास्वपा सभापतिले गरे कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसद र सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रिया अभियान शुरु गरेको छ ।

अभियानअन्तर्गत शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग पार्टी सभापतिले छुट्टाछुट्टै छलफल गरेका हुन् । छलफलमा सांसदहरूले निर्वाचनका क्रममा भोगेका अनुभव, जनताको अपेक्षा तथा पार्टी र सरकारबीचको समन्वयकारी भूमिकाबारे धारणा राखेका थिए ।

रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार सभापतिले वडादेखि संघसम्मका गतिविधि, आगामी महाधिवेशनका चुनौती तथा संसदीय भूमिकालाई कसरी जनमुखी बनाउने भन्ने विषयमा सांसदहरूलाई निर्देशनात्मक सुझाव दिएका छन् ।

छलफलमा सांसदहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, कानुनी जटिलता समाधान गर्ने तथा पार्टी विधानअनुसार सरकारको काममा सहयोग पुर्‍याउने विषयमा समेत गहन विमर्श भएको बताइएको छ ।

सभापतिले सांसदहरूलाई आफ्नो व्यक्तित्व विकाससँगै जनताका मुद्दामा प्रखर रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए ।

‘पार्टी, संसद र सरकारको समन्वयमा भइरहेका काम, आसन्न महाधिवेशनको तयारी र सांसदहरूले भोगिरहेका समस्याबारे विस्तृत छलफल भएको छ,’ सचेतक परियारले भने, ‘जनताका अपेक्षा सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउने र सरकारको कामलाई नतिजामुखी बनाउने विषयमा अन्तरक्रिया केन्द्रित थियो ।’

झापा क्षेत्र नम्बर ५ का सांसदको अनुपस्थितिबारे सञ्चारकर्मीले उठाएको प्रश्नमा परियारले प्रधानमन्त्रीसँग पार्टी सभापतिको नियमित समन्वय र सहकार्य भइरहेको बताए । आगामी बजेट निर्माणको व्यस्तताका कारण केही विशिष्ट परिस्थिति उत्पन्न हुनु स्वाभाविक रहेको उनको भनाइ थियो ।

यस्तै, सहकारी पीडितलाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने तयारीबारे उठेको जिज्ञासामा उनले सो विषयमा थप स्पष्ट धारणा आगामी दिनमा सार्वजनिक गरिने बताए ।

परियारले संसदीय दल र पार्टी नेतृत्वले सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उचित समयमा आधिकारिक धारणा सार्वजनिक गरिने संकेत गरे ।

रास्वपाले आफ्ना जनप्रतिनिधिलाई थप उत्तरदायी बनाउन तथा पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रम सातै प्रदेशमा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =