एक मुठ्ठी बादलको प्रिमियरमा आँचलको ‘हट’ बेहुली अवतार (तस्बिरहरू)

काठमाडौँ । यहीँ शुक्रबारदेखि प्रदर्शनमा आइरहेको चलचित्र एक मुठ्ठी बादलको प्रिमियर बुधबार सम्पन्न भएको छ ।
महिला नौमति बाजा समुहको नौमति बाजामा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिस राई द्वारा तयार गरिएको रातो रंगकै गाउन र लामो घुम्तो लगाएर बेहुली सरह प्रिमियरमा प्रवेश गरेकी थिइन् ।
साहारा शर्माद्वारा निर्देशित यस चलचित्रको प्रिमियरमा पनि चलचित्रमा जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखेको देखिन्थ्यो ।
चलचित्रमा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम छ । उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ । चलचित्रले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरेको कारण दर्शकबाट प्रशंसा पाएको थियो ।
निर्देशक सहारा शर्माले भनिन्, ‘एक मुठ्ठी बादल नेपाली चलचित्रमा प्रायजसो नदेखाइने महिलाका भावना र अनुभवहरूमा आधारित छ ।’
निर्माताअभिमन्यू दिक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै अतिथिहरूलाई स्वागत गरेका थिए ।
दर्शकहरूले चलचित्रको कथावस्तु, अभिनय तथा कथावाचन शैलीको खुलेर प्रशंसा गरे । साँझको कार्यक्रम कलाकार तथा निर्माण टिमसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया सत्रसँगै सम्पन्न भएको थियो, जहाँ चलचित्र निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाहरूको महत्त्वबारे छलफल केन्द्रित रहेको थियो ।
‘हामीले मनदेखि एउटा चलचित्र बनाएका छौं । अब यसलाई हेर्ने, यसको बारेमा कुरा गर्ने र अझ धेरै दर्शकमाझ पुर्याउने जिम्मा तपाईंहरूको हो,’ निर्माता अभिमन्यु दीक्षितले थपेका थिए ।
एक मुठ्ठी बादल यहीँ शुक्रबारदेखि प्रदर्शनमा आउनेछ भने दर्शकहरूले टिकट बुक गर्न पनि सक्नेछन् ।
हेर्नुहोस् तस्बिरहरू:









