सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।

संयुक्त संघर्ष समितिले बुधवार काठमाडौँ उपत्यकाका सुकुम्वासी बस्तीमाथिको दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्वासीमाथि दमन गरिरहेको आरोप लगाए । उनले सुकुम्वासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरू एकजुट भएर विरोध गर्नुपर्ने बताए ।

हिङमाङले नेपालमा गरिब, भूमिहीन र निमुखा नागरिकमाथि पञ्चायतकालदेखि नै निरन्तर दमन हुँदै आएको दाबी गर्दै वर्तमान व्यवस्थामा पनि त्यही प्रवृत्ति दोहोरिनु दुःखद् भएको बताए ।

उनले भने ‘आज विदेशीको इसारामा दलाली गरिरहेको सरकारले सुकुम्वासीको समस्या हल गर्ने कुरा थिएन । उसले बर्बर दमन मच्चाएर आज सुकुम्वासीमाथि अत्याचार मच्चाएको छ । यसका विरुद्धमा सुकुम्वासीहरूको पक्षमा हामी राजनीतिक शक्तिहरू, संयुक्त संघर्ष समितिमा आबद्ध राजनीतिक शक्तिहरू राज्यको यस कदमको घोर विरोध गर्न चाहन्छौँ । नेपालमा गरिब र निमुखा नागरिकमाथि निरन्तर रूपमा दमन हुँदै आएको छ । हिजो पञ्चायत कालमा पनि यस्तो दमन भयो, बहुदलमा पनि यस्तो दमन भयो । र गणतन्त्र भनिने पुँजीवादी व्यवस्थाभित्र पनि यो दमन भइरहेको छ । यसको मुख्य दोषी यो राज्य व्यवस्था हो । यसका विरुद्धमा नलाग्ने हो भने गरिब र सुकुम्वासी र अव्यवस्थितमाथिको दमन नरोकिने हाम्रो आङ्कलन छ ।’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्वासी बस्तीहरू वैशाख १२ र १३ गते खाली गराएको थियो ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =