कृषि उत्पादन वृद्धि गर्न अर्गानिक खेतीमा जोड दिन सांसदहरूको माग

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले कृषि उत्पादन बढाउन अर्गानिक खेतीमा जोड दिनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै सांसदहरूले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनामा आधारित कृषि नीति लागू गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले कृषि क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने धारणा राखे । उनले कृषि औद्योगिकीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै बाँदर तथा बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक रहेको बताए ।

त्यस्तै, नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले भूमि व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले ऐलानी जग्गामा बसोबास गर्ने नागरिकहरूमा सरकारी जग्गा अतिक्रमणको आरोप लाग्ने डर बढेको भन्दै त्यसले जनतामा त्रास र अन्योल सिर्जना गरेको टिप्पणी गरे । उनले उक्त त्रासलाई आत्मविश्वासमा बदल्ने गरी नीति बनाउन सरकारलाई सुझाव दिए ।

नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले रैथाने बालीका बीउ संरक्षणमा जोड दिँदै कृषि नीतिमा स्पष्टता आवश्यक रहेको बताए । उनले रासायनिक मलको अभाव र स्वास्थ्य सचेतनाबीच देखिएको विरोधाभास समाधान गर्नुपर्ने उल्लेख गर्दै अर्गानिक मल उत्पादनमा सरकारी लगानी बढाउनुपर्नेमा जोड दिए ।

बैठकमा सहभागी अधिकांश सांसदहरूले कृषि उत्पादन वृद्धि र दीगो कृषि प्रणालीका लागि अर्गानिक मल र खेती प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =