अवैध सम्पत्ति र मनी लाउन्डरिङ आरोपमा लेखा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पौडेलले पदको दुरुपयोग गर्दै अवैध रूपमा आर्जन गरेको कुल सम्पत्ति करिब ६ करोड २६ लाख रुपैयाँभन्दा बढी रहेको अनुसन्धानबाट खुलेको छ । त्यसमध्ये करिब २ करोड ५१ लाख रुपैयाँ बैंक तथा सहकारी खातामा रहेको देखिएको छ ।

अनुसन्धानका क्रममा उनले अवैध सम्पत्तिको स्रोत लुकाउन नक्कली ऋण कारोबार देखाउँदै विभिन्न व्यक्तिमार्फत रकम घुमाएको (वेब अफ ट्रान्जेक्सन) पाइएको आयोगले जनाएको छ । यसरी करिब २ करोड ५८ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ ।

आयोगले उक्त रकम बराबरको बिगो कायम गरी कैद तथा जरिवाना माग दाबी गरेको छ । साथै, पौडेलको खातामा रहेको १ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जफत गर्न पनि माग गरिएको छ ।

यस प्रकरणमा उनकी श्रीमती हुमाकुमारी उपाध्यायसहित अन्य चार जनालाई पनि सहयोगी भूमिकामा संलग्न देखिएको भन्दै उनीहरूविरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

मुद्दा हाल विशेष अदालत, काठमाडौँमा दर्ता भई सुनुवाइको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =