सामाजिक सञ्जाल तत्काल नियमन गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा (एमाले) की सांसद विष्णुमाया विकले राजनीतिक तथा सामाजिक मुद्दा र निर्णय समेत सामाजिक सञ्जालको प्रभावमा पर्न थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्नेकुरा सामाजिक सञ्जालले निर्धारण गरिरहेको उनको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरिन् । प्रमाण नष्ट गर्ने आधार नभएको भन्दै थुनाबाहिर राखेरै अनुसन्धान अघि बढाउनुपर्ने उनको माग छ ।
उनले भनिन् ‘आज कसलाई नेता बनाउने रु कसलाई प्रधानमन्त्री बनाउने ? कसलाई कुन पार्टीको अध्यक्ष बनाउने ? सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र त्यसकै पछाडि हामी लागिरहेका छौँ । यो सामाजिक सञ्जाल नियमन गरिनुपर्छ । म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु सामाजिक सञ्जालहरू तुरुन्त नियमन गरियोस् । पार्टी अध्यक्ष एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । उहाँहरूले प्रमाण नष्ट गर्ने कुनै आधार छैन । उहाँहरूले अहिले सत्तामा हुनुहुन्न । उहाँहरूलाई तुरुन्त रिहा गरेर अनुसन्धान अघि बढाइयोस् ।’
सांसद विकले एमाले समर्थक जेन–जी अमिसा पराजुलीमाथि साइबर आक्रमण भएको र हिंसा गरिएको भन्दै आपत्ति जनाइन् ।








