अख्तियार प्रमुखलाई भेटेर गृहमन्त्रीले भने: कसैलाई पनि नछाड्नुस्, धमाधम फाइल खोल्नुस्

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारसम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजनलाई तीव्रता दिन आग्रह गरेका छन् ।
गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ तीन दिनअघि टोलीसहित राईलाई भेट्न पुगेका थिए । भेटका क्रममा उनले सरकारको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता जनाएका थिए ।
‘सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस् । तपाईंलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस्, म दिन तयार छु । कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस् । हाम्रो साथ रहनेछ,’ राईसँग गृहमन्त्रीको संवाद उद्धृत गर्दै स्रोतले भन्याे ।
यसअघि पनि राईले निष्पक्ष अनुसन्धान गर्दै पूर्वप्रधानमन्त्री र पूर्वमुख्यसचिवहरू मुछिएका ठूला भ्रष्टाचारका काण्डहरूको अभियोजन गरिएको जानकारी गृहमन्त्रीलाई गराएका थिए ।
गुरुङको ढाडसपछि राजनीतिक दबाबका कारण रोकिएका ‘ठूला माछा’ संलग्न दर्जनौँ काण्डको अनुसन्धानलाई अख्तियारले तीव्रता दिएको स्रोतले दाबी गरेको छ ।








