रास्वपा चमत्कारिक रूपमा शक्तिशाली बन्नुको कारण तत्काल खोजी गर्नुपर्ने हुन्छ: एमाले सचिव भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रूपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताए । उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरुबीच राष्ट्रिय एकता कायम गरेर अघि बढ्ने कुरामा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे ।

दलहरुबीचको संवाद तत्काल सुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाई थियो ।

उनले भने ‘नेपाल भित्र चलखेल हुने सम्भावना छ । हाम्रो भूराजनीतिक संवेदनशीलता बढेर जान खोजेको छ । यतिबेला गर्ने के रु यतिबेला सबैभन्दा गर्ने काम के हो भने पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो । राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रूपमा प्रतिस्पर्धा गरौँ, विवाद गरौँ । सबै चिज गरौँ । यो संवेदनशील विश्व व्यवस्था आइसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि हामी सबैले पहल लिनु आवश्यक छ । त्यो पहल आन्तरिक संवादबाटै अगाडि बढाइनु पर्छ । हाम्रा केही केही मान्यताहरू फरक हुन सक्छन् । हिजो देखि फरक मान्यता बोकि आएका कारण हामी फरक फरक ठाउँमा उभिने स्थिति बन्नसक्छ । किनभने हामी फरक राजनीतिक पृष्ठभूमिका बोलेका फरक राजनीतिक पार्टीहरू पनि छौ । थुप्रै दलहरू छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ उ । उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन्, त्यो खोजतलासको विषय बाँकी नै छ । त्यसो हुनाले यो पक्षलाई ध्यानमा राखेर राष्ट्रिय एकता, देशभक्तिको भावना जगाउँदै कमसेकम अरू हाम्रा छिमेकी हुन वा अरू अन्तर्राष्ट्रिय मित्र शक्तिहरूले हामी तुलनात्मक हिसाबले सानो तर म सानो भन्दिन किनभने यो जनसङ्ख्याको हिसाबले ४२ औ ४३ औ स्थानमा छ । भौगोलिक हिसाबले पनि यो संसारको ९२ औ, ९३ औ स्थानमा छ । यो मध्यमस्तरको मुलुक हो । तर छिमेकी ठुला मुलुकहरूका कारण हामी सानो छौ कि भन्ने परेको छ । तर पनि हामी चीन र भारत जस्ता छिमेकीको बीचमा भने साना नै हौ । यस्तो संवेदनशील ठाउँमा रहेको नेपालका विदेश नीतिबारेको छलफललाई सार्वजनिक बहसको विषय व्यापक बनाउँदै लैजानु आवश्यक छ भन्ने मलाई लाग्छ ।’

सचिव भट्टराईले दलहरुबीच आन्तरिक रूपमा प्रतिस्पर्धा भएपनि मुलुकलाई भूराजनीतिक संवेदनशीलताबाट जोगाउनका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =