काँग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँ: शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गत निर्वाचनमा काँग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को संज्ञा दिएका छन् ।

शनिवार काठमाडौँमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताए । उनले संसद्मा काँग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण रहेको स्वीकार गरे ।

अबको लडाइँ वामपन्थीसँग भन्दा पनि ‘लिबरल डेमोक्रेट्स’ हरूसँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिए । कोइरालाले आफूले सुरुदेखि नै केन्द्रीय समितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण गराए । विशेष अधिवेशनबाट गगन थापा सभापति भएको सन्दर्भ जोड्दै उनले यस विषयमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको बताए । अदालतको प्रक्रिया जे–जस्तो भएपनि पार्टीलाई एकताबद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने उनले प्रतिबद्धता जनाए ।

उनले भने ‘अहिले हाम्रो राजनीति संसद्मा उपस्थिति एकदमै कमजोर अवस्थामा हामी छौँ । त्यो हामीले स्विकार्नु पर्छ । धेरैले भन्छन् कसरी हार्यो के गर्‍यो के भो भनेर । हावाहुरी हुण्डरीहरु आयो हामीले बुझ्नै सकेनौँ भने पनि हुन्छ । यसलाई हामीले जनताको चाहना, नेपाली काँग्रेसका साथीहरूको चाहनालाई पनि हामीले बुझ्न सकेनौँ । अहिले सुन्दै जाँदा खेरी तपाईँहरूले पनि बुझ्नुभयो होला, तपाईँहरूले पनि सुन्नु यो होला, हामीले पार्टी छोड्या छैन मत मात्रै फेरेको भनेर भन्या छ। त्यही भन्या छन् नि मानिसहरू, धेरै अधिकांश ठाउँमा साथीहरूलाई सोध्दाखेरि यही कुराहरू गरिराख्या छ ।

अहिले मलाई के लाग्छ भने यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्वइङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्वइङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ । अब सिफ्ट हुन चाहिँ हामीले नदिऔँ । त्यसमा हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ । पहिले पहिले हाम्रो लडाई वामपन्थीहरूसित हुन्थ्यो सजिलो थियो। अबको लडाई लिबरल डेमोक्रेट्सहरुसित हाम्रो लडाई छ । त्यो लडाइँमा हाम्रो हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ । हाम्रो संगठन छ र हामी गर्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु । अघि केदारजीले उठाइसक्नु भो कुरा त्यसकारण मैले पनि बोल्नैपर्ने हुन्छ । विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर भनेको। तर मैले एउटा शब्द त्यहाँ अझ जोडेको छु । केन्द्रीय समितिले निर्णय गरेर विशेष अधिवेशन गरौँ भनेर भन्या थिएँ ।

केन्द्रीय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठ्यारो परिस्थितिमा पुग्छौँ भनेर मैले पटक पटक सबै साथीहरूलाई वरिष्ठ साथीहरूलाई ती कुराहरू भनेकै हो । त्यो स्वीकार्य भएन । त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो । गगनजी अहिले सभापति विशेष अधिवेशनबाट हुनुभएको छ ठिकै छ त्यसमा केही छैन । तर यसको मुद्दा शेरबहादुरजी र पूर्णजीले मुद्दा सर्वोच्च अदालतमा दिनुभएको छ । मुद्दाको छिनोफानो भोलिदेखि सुरु होला । अब कति दिन लाग्ने हो, लाग्छ लाग्दैन समय लाग्छ लाग्दैन तर नेपाली काँग्रेसलाई एक ढिक्का बनाउनलाई, नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याउनको लागि म अन्त्य सम्म प्रयास गर्नेछु । त्यो तपाईँहरू ढुक्क हुनुस् ।

म कुनै यो ग्रुपमा उ ग्रुपमा छैन । तपाईँहरूले स्पष्ट हुनुपयो यो कुरा । मानिसहरूले साथीहरूले यही कोठामा यही हलमा भएका साथीहरूले पनि मेरो बारेमा धेरै कुराहरू लेख्नु भएको मैले देख्या छु । सामाजिक सञ्जाल हामी पनि हेर्छौँ । हामी हेर्दैनौँ भन्ने होइन। हामी पनि बुझ्छौँ । तर जसरी प्रस्तुत गरिएको छ मलाई चिन्ता छैन । मलाई जसले जति गाली गरे पनि हुन्छ। मलाई केही पनि असर गर्दैन त्यो गालीले । किन गर्दैन भने मेरो एउटै लक्ष्य छ नेपाली काँग्रेसलाई एक ढिक्का बनाईकन आगामी निर्वाचनमा फेरि हामीहरू पहिलो पार्टीको रूपमा प्रस्तुत हुने मेरो त्यति मात्रै इच्छा हो ।

अरू मेरो केही इच्छा छैन। त्यसकारण तपाईँहरूलाई यो मौका पाएर मात्रै मैले बोलेको। आज म बोल्ने यो विषयमा म छलफल गर्ने आएको पनि होइन। तर कुरा उठिसकेपछि आफ्ना कुराहरूलाई स्पष्ट रूपमा तपाईँहरूको माझमा राखिदिनु पर्ने आवश्यकता मैले देखेँ । नेपाली तपाईँहरू पनि धेरै विद्वत साथीहरू यहाँ हुनुहुन्छ प्राध्यापक हुनुहुन्छ वकिलहरू हुनुहुन्छ अन्य साथीहरू हुनुहुन्छ। दुवै समुदाय दुवै ग्रुप सित तपाईँहरूले छलफल गर्नुस् र नेपाली काँग्रेसलाई एक ढिक्का बनाउने एक उसमा लग्ने तपाईँहरूले कोसिस गर्नुस् प्रयास गर्नुस् यही नै बिपी कोइरालालाई सच्चा श्रद्धाञ्जली हुन्छ ।’

डा। कोइरालाले आफू कुनैपनि गुट वा समूहमा नरहेको स्पष्ट पारे । सामाजिक सञ्जाल र पार्टीभित्रबाट हुने आलोचनाको आफूलाई कुनै चिन्ता नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =