शेखर कोइरालाको स्पष्टोक्ति- म पार्टीको कुनैपनि समूहमा छैन

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताएका छन् ।

नेता कोइराला संस्थापन इतर समूहमा रहेको समाचार सम्प्रेषण भइरहेका बेला उनले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टीकरण दिएका हुन् ।

शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरूमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए । उनले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए ।

काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको नेता कोइरालाको भनाई थियो ।

उनले भने ‘नेपाली काँग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । त्यो तपाईँहरू ढुक्क हुनुहोस् । म कुनै यो ग्रुपमा, त्यो ग्रुपमा छैन । तपाईँहरू स्पष्ट हुनुपर्यो यो कुरामा । मानिसहरूले, साथीहरूले यही कोठामा, यही हलमा भएका साथीहरूले पनि मेरो बारेमा धेरै कुराहरू लेखेको मैले देखेको छु । सामाजिक सञ्जाल हामी पनि हेर्छौ । हामी हर्दैनौ भन्ने होइन । हामी पनि बुझ्छौँ । तर जसरी प्रस्तुत गरिएको छ । मलाई चिन्ता छैन । मलाई जसले जति गाली गरे पनि हुन्छ । त्यसले मलाई केही पनि असर गर्दैन । किनभने मेरो एउटै लक्ष्य छ–नेपाली काँग्रेसलाई एकढिक्का बनाएर फेरी हामीहरू पहिलो पार्टीको रूपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो । अरू मेरो केही इच्छा छैन ।’

त्यस अवसरमा काँग्रेस नेता कोइरालाले बिपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =